images
images

सार्वजनिक शिक्षाको सुधारमा व्यवस्थापन र शिक्षकको लगनशीलता निर्णायक : मन्त्री तामाङ

हेलम्बु । बागमती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय कृष्णकुमार तामाङले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालय व्यवस्थापन, शिक्षक–कर्मचारी र सरोकारवाला पक्षको निरन्तर सक्रियता आवश्यक रहेको बताएका छन् । हेलम्बु गाउँपालिका–४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा ३२औँ अभिभावक भेलाको अवसरमा मन्त्री तामाङले विद्यालय व्यवस्थापन समिति र शिक्षकको लगनशीलताकै भूमिका निर्णायक हुने बताएका हुन् ।

मन्त्री तामाङले बाढीका कारण जोखिममा परेका मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिको संरक्षण र पुनर्निर्माणका लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्दै नेतृत्वदायी भूमिकामा आफू सक्रिय रहेको बताए । मेलम्ची पुनर्निर्माण राज्यको दायित्व भएकाले सबै तहका सरकारले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो।

images
images

कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुलाई शैक्षिक हवका रूपमा विकास गरिने बताए । शिक्षाको खोजीमा गाउँ छाडेर सहरमा महँगो शुल्क तिरेर बोर्डिङ पढाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने शेर्पाको भनाइ थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। प्रधानाध्यापक सिताराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुमारप्रसाद घोरासैनीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वडा नम्बर ४ का अध्यक्ष बुद्धिमान तामाङले शुभकामना मन्तव्य राख्दै समग्र वडाको विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा कार्यक्रमका प्रमुख अतिथि मन्त्री कृष्णकुमार तामाङ (समीर), लामो समय सेवा प्रदान गरी सेवा निवृत्त शिक्षक प्रेमकुमार लामिछाने, पूर्व शिक्षिका लक्ष्मी चालिसे तथा पूर्व विद्यार्थी सोम तामाङलगायतलाई सम्मान गरेको छ।

कार्यक्रम बागमती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय कृष्णकुमार तामाङ (समीर)को प्रमुख आतिथ्यता तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्