सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–२, लिपिङस्थित भन्सार कार्यालय अगाडि पार्किङ गरी राखेको टेलर आफैँ अगाडि गुडेर पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार करिब अपराह्न ४:०० बजे म.प्र. ०३–००१ ख ७५९६ नम्बरको टेलर अगाडि सरेर पैदलयात्री ३० वर्षीय सागर घतानीलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका घतानीको दुवै खुट्टा र पेटमा गम्भीर चोट लागेको थियो।
इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले घाइतेको तत्काल उद्धार गरी बी.एण्ड बी. अस्पताल, काठमाडौँ पठाएकोमा उपचारको क्रममा साँझ सावा ८ बजे चिकित्सकले मृत घोषणा गरेको र मृतकको स्थायी ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
उक्त टेलरका चालक भोटेकोशी गाउँपालिका २ तातोपानीका ४८ वर्षीय बुध तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी खरेलले बताउनुभएको छ।
मृतकको शव अहिले अस्पतालमै रहेको र उनका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै उक्त सडक खण्ड अवरुद्ध दलित एकता युवा महाअभियानका केन्द्रीय संयोजक तथा मृतकका आफन्त रामचन्द्र घतानीले जानकारी दिनुभयो। साथै मृतक पनि सोही स्थानका टेलर गाडीका चालक रहेको पनि उहाँले जानकारी दिनुभयो।
उक्त क्षेत्रमा कन्टेनरमा ओभरलोड र चालकको लापरवाहीले समेत यस्ता दुर्घटना हरु हुने गरेको स्थानीयको भनाइ छ। स्थानीयवासी तथा सरोकारवालाहरूले क्षमता भन्दा बढी ओभरलोड बोकेर सवारी साधन सञ्चालन गर्दा यस्ता दुर्घटनाहरू बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। यदि समयमै नियन्त्रण नगरे अझ ठूला र भयानक दुर्घटना हुने सम्भावना रहेको उनीहरूको चेतावनी छ ।
यस घटनापछि सम्बन्धित निकायले ओभरलोड नियन्त्रण, सवारी चेकजाँच र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने माग उठेको छ।















प्रतिक्रिया दिनुहोस्