नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले मंसिर २५ गते आफ्नो ३४ औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित भव्यरूपमा सम्पन्न गरेको छ।
“समाजको पहरेदार, म जिम्मेवार पत्रकार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम बजार परिक्रमा, स्वास्थ्य परीक्षण, परिचयपत्र वितरण तथा महासंघको आधिकारिक वेबसाइट fnjsindhupalchok.org को शुभारम्भ गरिएको हो।
कार्यक्रम अन्तर्गत ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोकको सहकार्यमा आयोजित खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए। सङ्कलित रगत चौतारा रक्त सञ्चार सेवा केन्द्रमा भण्डारण गरिने जानकारी ब्लोदानका अध्यक्ष सुरेश कसजूले दिए।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले वेबसाइट उद्घाटन गर्दै पत्रकारिता समाजको ऐना भएकाले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताले मात्र जनउत्तरदायित्व पूरा गर्न सक्ने बताए।
साथै उनले सामाजिक सञ्जालमा बिना प्रमाण प्रवाह भइरहेका गलत सूचनालाई रोक्न महासंघले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
विशेष अतिथि तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीद बागचन्दले पत्रकारिताले देशका सबै परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउँदै डिजिटल रूपान्तरणले चुनौती र अवसर दुवै बढाएको उल्लेख गरे।
उनले सामाजिक सञ्जालका सबै सामग्री समाचार नभएकाले तथ्य–परकता र प्रमाणिकता अझै आवश्यक भएको धारणा राखे।
नगर उपप्रमुख सीता थापाले पत्रकारिताको संवेदनशीलता र समाजमा पार्ने प्रभावबारे जोड दिँदै आचारसंहिता, सत्यता र संवेदनशीलता नै पत्रकारको वास्तविक पहिचान भएको बताइन्।
उनले महिला सशक्तीकरणमा पत्रकार महासंघको योगदान उल्लेख गर्दै समान अवसर सृजनामा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्।
कार्यक्रम अन्त्यमा सहभागीहरूले शुभकामना आदानप्रदान गर्दै प्रेस स्वतन्त्रता, आचारसंहिता र जनमुखी पत्रकारितालाई मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए।















प्रतिक्रिया दिनुहोस्