बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाको समानुपातिकतर्फ र राष्ट्रिय सभाको लागी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
मंगलबार बाह्रबिसे बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा भएको छलफलबाट प्रतिनिधिसभाको समानुपातिक तर्फ ३ जना र राष्ट्रिय सभामा ३ जनाको नाम सिफारिस गरेको हो ।
हामीले दुई दिन छलफल गर्यौ उम्मेदवारको बारेमा र इच्छा भएका नेताहरुको नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाएको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।
प्रतिनिधिसभाको प्रत्यक्षका लागि क्षेत्र नम्बर १ ले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतको एकल नाम सिफारिस गरेको हो । यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ महाधिवेशन प्रतिनिध डा. प्रेमध्वज लामा, दोर्जे लामा (हाउडे) र यस्मीन ढुंगानाको नाम सिफारिस गरिएको छ । सभापति बस्नेतले बताए ।
अहिले समानुपातिक तर्फ सिफारिस भएका डाक्टर प्रेमध्वज लामा जिल्ला जिल्ला सभापतिको नेतृत्वको लागी निर्वाचन लडेका ब्यक्ति हुन । त्यस्तै दोर्जे लामा (हाउडे) जिल्ला उपसभापति हुन् भने उनी सिन्धुपाल्चोकको तरुण दलका अध्यक्ष भइसकेका ब्यक्ति हुन । उनीहरु दुबै पार्टीको नेतृत्वमा रहदै आएका ब्यक्ति हुन ।
यस्मिन ढुंगाना भने गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट नेपाली काङ्ग्रेस प्रवेश गरेकी हुन । राप्रपामा हुँदा लोकप्रिय मत सहित पार्टीको केन्द्रिय सदस्य निर्वाचीत भएकी थिइन । ढुंगाना काङ्ग्रेस प्रवेश गरेपछि काङ्ग्रेसको जिम्मेवारी पदमा नरहेपनि अहिले उनलाई समानुपातिकमा सिफारिस गरिएको छ ।
राष्ट्रिय सभाका लागि भने महासिमित सदस्य भोला बोहोरा, जिल्ला सभापति जंग बहादुर लामा र व्यावसायि वेद बहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ । बोहोरा काँग्रेसका पुराना नेता हुन् भने श्रेष्ठ उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य हुन् ।
नेपाली कांग्रेसले केन्द्रीय समितिको निर्णयका आधारमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन जना, समानुपातिकतर्फ दुई जना र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । सोही अनुसार क्षेत्र नम्बर १ ले नाम सिफारिस गरेको हो । आज जिल्ला कार्यसमितिले छलफल गरेर थप नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गर्नेछ ।
निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तोकेको छ ।















प्रतिक्रिया दिनुहोस्