चौतारा । दिपु तेगा तेम्बाथान क्षेत्रका स्थानीयवासीहरूले १९ बुँदे मागसहित रोक्का पारेको ३६.५२ मेगावाटको ब्रहम्हायणी खोला जलविद्युत् आयोजना पुनः सुचारु हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयमा आईतबार आयोजना पक्ष, स्थानीय प्रतिनिधि र प्रभावित वासिन्दाबीच भएको छलफलमा विभिन्न ९ बुँदे सहमति भएको हो। छलफलका क्रममा आयोजनाले सामाजिक उत्तरदायित्व, सडक, बस्ती संरक्षण, विद्युत् सेवा, जनशक्ति व्यवस्थापन, पुल निर्माण लगायतका स्थानीय मागहरू कार्यान्वयन गर्ने सहमतिपछि स्थानीयले पनि आजैदेखि अवरोध हटाई आयोजनाको काम सुचारु गर्न सहयोग गर्ने जनाएका छन्।
सहमतिका बुँदाहरू
१. आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने कार्यक्रमहरु स्थानीय प्रभावित क्षेत्रमा गाउँपालिकासँगको समन्वयमा स्थानीय प्रभावित क्षेत्रका बासिन्दाको प्रत्यक्ष सहभागितामा संचालन गर्ने।
२. प्रभावित दिपु वस्ती संरक्षणको काम आयोजनाले तत्काल शुरु गर्ने।
३. तेम्बाथान बस्ती सडक चौडा तथा व्यवस्थित बनाउने काम आयोजनाले गर्ने।
४. कुमजोङ खोला तेम्बाथान बेलिव्रिज निर्माण कार्य गाउँपालिकाको समन्वयमा ब्रम्हायणी हाइड्रो र अपर बलेफी (४६ मे.वा.) हाइड्रोको साझेदारीमा गर्ने।
५. आयोजनाको काम र आवश्यक पर्ने जनशक्ति दक्षताको आधारमा उपलब्ध भएसम्म स्थानीयबाट लिई काम गर्ने।
६. साङलुङ बस्तिको लागि बिजुली बत्तीको व्यवस्था आयोजनाले गर्ने।
७. यस पूर्व वडा अध्यक्षको रोहवरमा भएको सहमती/समझदारीहरु प्राथमिकतापूर्वक कार्यान्वयन गर्ने।
८. दिपु तेगा तेम्बाथान ब्रम्हायणी खोला जलविद्युत आयोजना प्रभावित स्थानीय बासिन्दाले अवरोध हटाई आजैका मितिबाट आयोजनाको काम सुचारु गर्न सहयोग गर्ने।
९. बाँकी न्यायोषित मागहरुका सम्बन्धमा कानून बमोजिम क्रमश सम्बोधन गर्दै जाने।
बैठकमा आयोजना प्रभावित स्थानीयको तर्फबाट निमा तार्के शेर्पा र निमा वाङदी शेर्पा तथा आयोजनाको तर्फबाट सन्तकुमार अधिकारी सहभागी भएका थिए भने जुगल गाउँपालिका–२ का वडा अध्यक्ष चन्द्र काजी तामाङ र जुगल गाउँपालिका–३ का वडा अध्यक्ष लक्षमान दोङ को रोहबरमा सहमतिमा हस्ताक्षर गरिएको हो।
दुवै पक्षले सहमतिका बुँदाहरूलाई तत्काल कार्यान्वयनमा ल्याई प्रभावित क्षेत्रका समस्याहरू छिटोभन्दा छिटो समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
















प्रतिक्रिया दिनुहोस्