images
images

मेलम्ची रेबिज उच्च जोखिम क्षेत्र: स्वास्थ्यकर्मी लक्षित तालिम प्रारम्भ

मेलम्चीमा रेबिज रोग व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सुरु भएको छ, जसको आयोजना बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय चौताराले गरेको हो। फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको सहकार्यमा आयोजित तालिम मेलम्ची रिभरसाइड इनमा औपचारिक रूपमा सुरु भएको हो। उद्घाटन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले रेबिजलाई नगरपालिका स्तरमा प्राथमिकता दिनुपर्ने आवश्यकता जोड दिँदै स्वास्थ्यकर्मीको दक्षताले प्रभावकारी उपचार र जनचेतनामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मेलम्चीमा वार्षिक करिब ५०० जनाले कुकुरको टोकाइको जोखिम सामना गर्नुपरेको तथ्यलाई उल्लेख गर्दै उहाँले नगरलाई रेबिज उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएकाले अझ सशक्त तयारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नगरप्रमुखले कुकुर व्यवस्थापन, खोप अभियान विस्तार, विद्यालय तथा समुदायमा जनचेतना कार्यक्रम र उपचार सेवाको पहुँच तथा गुणस्तर सुधारमा नगरपालिका निरन्तर सहयोगी रहने आश्वासन दिनुभयो। तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई रेबिज संक्रमणका प्रमुख स्रोत, जोखिम मूल्याङ्कन, पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस (PEP) को सही प्रयोग, खोप र केस व्यवस्थापन, तथा समुदायस्तरमा रोकथाम र नियन्त्रणका व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गरिने जनाइएको छ। आयोजक तथा सहकार्य संस्थाहरूले मेलम्चीलाई रेबिज जोखिममुक्त क्षेत्र बनाउन स्थानीय तहसँग समन्वय जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्