images
images

सहकारीहरूको भविष्य अनुशासनमा निर्भर हुन्छ : नगरप्रमुख तामाङ

ज्यामिरे । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची–९ को सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारी सफल हुनका लागि सबै सदस्य अनुशासनमा रहनुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख तामाङले सहकारीले स्थानीय तहमा आयआर्जन वृद्धि र कृषिमा व्यावसायिकता विस्तारमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै सहकारीको बलियो संरचना, पारदर्शिता र अनुशासन नै यसको दिगो सफलताका आधार भएको बताउनुभयो । उहाँले सहकारीले सञ्चालन गरिरहेको कृषिमुखी गतिविधिले गाउँमा आर्थिक गति भित्र्याएको बताउनुभयो ।

images
images

कार्यक्रममा वडा अध्यक्ष किरणदिप खडकाले सहकारीलाई थप व्यवस्थित रूपमा अघि बढाउन सबै सदस्य जिम्मेवार बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

आफ्नै भवन सम्पन्न गरिसकेको सहकारीले तरकारी संकलन केन्द्र सहित एकीकृत कृषि केन्द्रको रूपमा विस्तार गर्न सहकारीका सचिव धर्मराज खडकाले अतिरिक्त सहयोगको माग गर्नुभयो । सहकारीका ९८० सदस्य रहेको र मेलम्ची–९ तथा १० कार्यक्षेत्र रहने संस्थामार्फत ९६० पशुहरूको बीमा गराइएको प्रबन्धक ललिता बस्नेत खडकाले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षदेखि हालसम्म २ करोड २२ लाख ९३ हजार २८४ रुपैयाँ ऋण लगानी तथा २३ हजार ९०० रुपैयाँ सेयर वृद्धि, साथै १० लाख १२ हजार ५८९ रुपैयाँ ९८ पैसा बचत संकलन भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीका अध्यक्ष भेषबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लोक गायक नवराज घोरासैनी, मञ्जु गौतम, रुद्र केसी, भिमसेन खतिवडा, राम घोरासैनी लगायतका कलाकारहरूले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्