बुङ्गाथली । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ बुङ्गाथलीमा अकबरे खुर्सानी प्रशोधन तथा अचार बनाउने पाँच दिने तालिम सम्पन्न भएको छ।
मङ्सिर १ गते सुरु भएको तालिम आज समापन भएको हो । तालिममा अकबरे खुर्सानी पकेट क्षेत्र बुङ्गाथलीका १५ जना महिलाहरूको सहभागिता रहेको थियो।
तालिमको समापन कार्यक्रममा आफ्नाे भनाइ राख्दै गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले महिलाहरूलाई उद्यमशीलताको बाटोमा अघि बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे।
अब तालिम लिएका महिलाहरूले खुर्सानी उत्पादन भई बजार नपाएको अवस्थामा पनि खुर्सानीलाई सुरक्षित र ताजा बनाइ राख्न सकिने र उचित मूल्य आएको बेलामा बेच्न सकिने साथै खुर्सानीलाई अचार बनाई उचित मूल्यमा बेच्न सक्षम भएको प्रशिक्षक सावित्री दङ्गालले बताए ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा, उपाध्यक्ष गीता कुमारी नेपाल, वडा नं. २ का अध्यक्ष रमेश राउत, वडा नं. ६ का अध्यक्ष, कृषि शाखाका कर्मचारीलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सहभागी महिलाहरूले तालिमले आफूहरूलाई व्यावसायिक रूपमा सक्षम बनाएको अनुभव सुनाउँदै आगामी दिनमा अकबरे खुर्सानी प्रशोधन र अचार उत्पादनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्