सिन्धुपाल्चाेक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीसम्म पुग्ने बाह्रबिसे–लिपिङ सडक खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य चालु आर्थिक वर्षमै अघि बढ्ने भएको छ। वार्षिक अर्बौँ रुपैयाँ राजस्व संकलन हुने यो नाका जाने मार्ग धेरै वर्षदेखि जीर्ण अवस्थामा रहेकाले सरकारले विशेष प्राथमिकताका साथ सुधार प्रक्रिया अघि सारेको हो। डिभिजन सडक कार्यालय चरिकोटले सडक स्तरोन्नतिको लागि ३ अर्ब रुपैयाँ माग गरेकामा अर्थ मन्त्रालयले २ अर्ब विनियोजन गरेको थियो। ठेक्का प्रक्रियामा सहभागी निर्माण व्यवसायीले १ अर्ब ३४ करोड १० लाख रुपैयाँमा काम सम्पन्न गर्ने प्रस्ताव दिएपछि सोही लागतमा सम्झौता अघि बढाइएको डिभिजन सडक कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन्।
भण्डारीका अनुसार २८ किलोमिटर लामो सडक दुई लेनको कालोपत्रे हुनेछ। प्रारम्भिक चरणमा नाली, नदी कटान रोकथाम संरचना, प्रोटेक्सन वाल जस्ता पूर्वाधार निर्माण गरिनेछ। त्यसपछि डीबीउम प्रविधिबाट गुणस्तरीय पिच गरिने योजना छ। डाक्लाङ, घट्टेखोला र कोदारी क्षेत्रमा पहिरोले क्षति पुर्याएकाले ती स्थानको पुनर्निर्माण छुट्टै ठेक्कामार्फत गरिनेछ। जोखिमयुक्त स्थलहरूको दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन अन्तिम चरणमा पुगेको र छिट्टै निर्माण अघि बढाइने भण्डारीले बताए।
सिन्धुपाल्चोक क्षेत्र नं. १ का निर्वतमान सांसद माधव सापकोटाका अनुसार तातोपानी नाका सडकको सुधार आफ्नो पहिलो प्राथमिकता रहेको र लामो प्रयासपछि काम प्रत्यक्ष रूपमा कार्यान्वयनमा पुग्न लागेका कारण जनताप्रति गरिएको प्रतिबद्धता पूरा हुने विश्वास रहेको छ। बजेट विनियोजनका बेला धेरैले शंका गरे पनि अब काम अघि बढ्न थालेको उनले बताए।
ठेक्का सम्झौतापछि दुई वर्षभित्र सम्पूर्ण काम सक्ने लक्ष्य छ। सडक स्तरोन्नति तथा कालोपत्रे पछि तातोपानी नाका हुँदै हुने व्यापारिक गतिविधि सहज हुने, ढुवानी खर्च घट्ने, सीमापार व्यापार बढ्ने र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्