images
images

अभयानन्दको स्थापना दिवस एवं क्याम्पस सभा सम्पन्न

नवलपुर ।
अभयानन्द शिक्षा क्याम्पस इन्द्रावती ५ ऐसेलुखर्कको १३ औं स्थापना दिवस एवं १२ औं क्याम्पस सभा सम्पन्न भएको छ ।

बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उनले क्याम्पस सञ्चालन हुनु एकदमै गौरवको विषय भएको र बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरु को राज्यले दायित्व लिनुपर्ने धारणा राखे । संघीय र प्रदेश सरकारले सामुदायिक क्याम्पसहरुमा लगानी गर्नुपर्ने उनको भनाइ थियो । अध्ययनका लागि विदेश जाने परिपाटी बढेकोमा चिन्ता व्यक्त गर्दै देशमा सुशासन नभएका कारण आन्दोलन भएको दुलालाको धारणा थियो ।

images
images

क्याम्पसहरू मर्जरमा लान सकेमा स्रोतहरू बढ्दै जाने र यसरी अघि बढ्न नसके अस्तित्व समेत हराउन सक्ने चिन्ता व्यक्त गरे । आगामी दिनमा पनि सक्दो सहयोग गरेर जाने प्रतिबद्धता जनाउँदै राम्रो कुरामा प्रतिस्पर्धा गरेर अघि बढ्नु पर्ने दुलालको धारणा थियो ।

इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले क्याम्पसको विकास र विस्तारमा सबै एक भएर लाग्नुपर्ने धारणा राखे । साथै राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर अघि बढ्नु पर्ने उनको भनाइ छ । क्याम्पसको उन्नति प्रगतिमा जुनसुकै भूभागमा रहेर पनि निरन्तर र लागिरहने बताए ।

नेपाली कांग्रेसका इन्द्रावती गाउँपालिका सभापति जीवनकुमार थापा मगरको पालिकामा रहेको उद्यमीहरूबाट कोष सङ्कलन गरी उद्योग सञ्चालन गर्न सकेमा रोजगारी बढ्नुका साथै विद्यार्थी सङ्ख्या पनि बढ्दै जाने धारणा थियो । क्याम्पसको जग्गालाई सदुपयोग गरी आम्दानीतर्फ जोड्दै लैजानुपर्ने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष देवेन्द्र दाहालले क्याम्पसको विषयमा गहिरो समीक्षा गर्ने बेला भएको धारणा राखे । पालिकामा रहेका दुईवटा क्याम्पस मर्जरमा लैजानुपर्ने बताउँदै प्राविधिक क्षेत्रका विषयहरु थपेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ। विद्यार्थी संख्या थप्ने तर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख कविराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । उनले क्याम्पसको आर्थिक अवस्था अवसर चुनौती र सम्भावनाको बारेमा आफ्नो भनाइ समेत राखेका थिए । उक्त अवसरमा हालसम्म ११३ जना क्याम्पसका आजीवन सदस्यहरू रहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, प्रवक्ता शशिनाथ आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू अन्य क्याम्पसका प्रमुख तथा सञ्चालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्