images
images

सावित्रा भण्डारी (साम्बा) लाई भण्डारी सेवा समाज नेपालद्वारा नगदसहित सम्मान

काठमाडौँ ।

रघुवंशीय कौशिक गोत्रीय भण्डारी सेवा समाज नेपालले नेपाली महिला फुटबल टोली कि कप्तान सावित्रा भण्डारी (साम्बा)लाई सम्मान गरेको छ।

images
images

समाजको केन्द्रीय कार्यालय लर्ड पार्टी भेन्यु धुम्बाराही काठमाडौँमा आज एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय ख्याति प्राप्त फुटबलर साम्बालाई ५१ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजका अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।

सम्मान ग्रहणपछि साम्बाले नेपाली महिला फुटबलको स्तरोन्नतिका लागि अझै धेरै मेहनत आवश्यक रहेको बताइन्। साथै विभिन्न अभाव र संकटका बीच आफू यो अवस्थामा आइपुगेको बताउँदै नयाँ पुस्तालाई फुटबलप्रति आकर्षित गर्नुपर्ने धारणा राखिन्।

नेपाललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल तथा राज्यस्तरबाट समेत विभिन्न सम्मान प्राप्त गर्नुभएका सावित्रा भण्डारी साम्बा आफ्नै कुलको चेली भएको र देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सफल भएकोमा रघुबंशीय कौशिक गोत्रिय भण्डारी परिवार गौरवान्वित महसुस गर्दै समाजले उक्त सम्मान गरिएको बताएको छ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री मसिना भण्डारी, वरिष्ठ उपाध्यक्ष रामकुमार भण्डारी, प्रमुख संरक्षक जीवनकुमार भण्डारी, संस्थापक अध्यक्ष ध्रुव भण्डारी, पूर्व एआइजी बमबहादुर भण्डारी लगायतको उपस्थितिमा साम्बालाई सम्मान गरिएको अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।

२०६५ सालमा स्थापना भएको समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा स्वास्थ्य क्षेत्र मा सहयोग लगायत उच्च पदस्थ व्यक्तिहरूलाई ऊर्जा प्रदान का लागि सम्मान लगायतका कार्यहरू गर्दै आएको छ।

साथै गम्भीर स्वास्थ्य समस्या भई आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेका बिरामी हरू तथा उच्च शिक्षा अध्ययन गर्न आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई र प्राकृतिक प्रकोपबाट प्रभावित हरूलाई समेत सहयोग गर्दै आएको संस्थाका अध्यक्ष वीरबहादुर भण्डारीले बताए ।

समाजले बागमती प्रदेश लगायत सिन्धुपाल्चोक क्षेत्र नम्बर २, देशका ३१ वटा जिल्ला तथा १५ वटा पालिकाहरूमा समेत आफ्नो संगठन विस्तार गरिसकेको बताउँदै पालिका स्तर देखि नै देशव्यापी संगठन विस्तार गरी वंशावली उठान लगायतका विभिन्न कार्यहरू गर्ने समाजको लक्ष्य रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्