बाह्रविसे ।
बाह्रविसे स्वास्थ्य चौकीको आयोजनामा आज क्षमादेवी माध्यमिक विद्यालय मा विभिन्न जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ। वडाका विद्यालय तथा विभिन्न स्थानमा होर्डिङ बोर्ड राख्ने अभियान अन्तर्गत आज क्षमादेवी माध्यमिक विद्यालयमा बोर्ड राखिएको स्वास्थ्य चौकीका सिनियर अहेव सूचना प्रवक्ता जितेन्द्र राउतले जानकारी दिए।
कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी नायब निरीक्षक सरला श्रेष्ठले बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा हिंसा सम्बन्धी जानकारी गराए ।
स्वास्थ्य शाखा प्रमुख सीतामाया दाहालले स्वास्थ्य चौकी बाह्रविसेले गरेको यस प्रकारको जनचेतनामूलक कार्यक्रमले २०८३ भदौसम्ममा गर्ने भनिएको बालमैत्री वडा घोषणालाई सघाउ पुग्ने बताउँदै बजेट बिना पनि यो उत्कृष्ट कार्य गर्न तत्परता देखाएकोमा स्वास्थ्य चौकी लगायत सक्रिय भूमिका निर्वाह गर्ने सिनियर अहेव जितेन्द्र राउत प्रति आभार व्यक्त गरे।
साथै क्षमादेवी माध्यमिक विद्यालयमा विद्यालय नर्सको आवश्यक देखिएको बताउँदै त्यसको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
बोर्डमा बालमैत्री र पोषणमैत्री विभिन्न सूचनाहरूका साथै आपत्कालीन सहायता नम्बरहरू समावेश गरिएकोले दुर्व्यवहार हिंसा तथा विभिन्न समस्यामा परेको थाहा पाउने बित्तिकै बालबालिकाहरूले उक्त नम्बरहरू याद गरी तत्काल सूचना दिन सकेमा अप्रिय घटनाहरूबाट बच्न सक्ने भएकोले बोर्ड विद्यालयहरु तथा समुदायका विभिन्न स्थानमा राख्ने योजना अघि सारिएको प्रवक्ता रावतले बताए ।
साथै यस्ता प्रकारका जानकारीहरू विद्यालयबाट छिटो प्रवाह हुन सक्ने भएकोले विद्यालयमा राखिएको र समुदायका विभिन्न स्थानहरूमा समेत राखिने जसबाट सूचनाको हक समेत सबै ले प्रयोग गर्न पाउने र सुरक्षाको लागि सजिलो माध्यमको रूपमा बोर्डलाई विभिन्न स्थानमा राखिएको उनको भनाइ छ।
साथै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू विद्यालयमा पनि बेलाबेलामा गर्दै आएको बताउँदै विद्यालयका प्रधानाध्यापक प्रकाश थापाले त्यसका लागि स्वास्थ्य चौकी प्रति आभार व्यक्त गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बाह्रविसेसँगको समन्वयमा सञ्चालित उक्त कार्यक्रममा, कार्यालयका प्रहरी नायब निरीक्षक सरला श्रेष्ठ, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सीतामाया दाहाल, स्वास्थ्य संस्था प्रमुख रश्मिला राउत, सूचना प्रवक्ता तथा सिनियर अहेब जितेन्द्र राउत विद्यालयका प्रधानाध्यापक प्रकाश थापा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्