तौथली ।
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा वडा गत रूपमै राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ।
तालिका नै बनाएर जनप्रतिनिधिहरूको सक्रियतामा वडा स्तरबाटै नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु गरेको हो ।
वडागत रूपमा परिचयपत्र वितरणको कार्य आज वडा नम्बर ५ का अध्यक्ष यादव श्रेष्ठको उपस्थितिमा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
आज र भोलि वडा नम्बर ५ को तौथलीमा र त्यसैगरी २८ गते वडा नम्बर ५ कै गैरीगाउँबाट परिचयपत्र वितरण गरिने जनाएको छ । त्यस्तै २९ र ३० गते वडा नम्बर ३ धुस्कुन, भदौ १ गते र २ गते वडा नम्बर २ चोकटी, भदौ ३ गते वडा नम्बर १ घोर्थली, भदौ ५ गते वडा नम्बर ६ टेकानपुर र भदौ ८ र ९ गते वडा नम्बर ४ पिस्करबाट परिचयपत्र वितरण गरिने गाउँपालिकाबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
गत आइतबार गाउँपालिकामा प्राप्त परिचयपत्रहरू केही मात्रामा गाउँपालिका बाटै वितरण गरिएको र बाँकी वडास्तरबाटै वितरण गर्ने गरी कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए।
साथै वडाबाट समेत प्राप्त गर्न नसक्ने अशक्त अपाङ्गहरूलाई अन्तिममा घरघरमै गएर राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना पनि रहेको अध्यक्ष बोहराले बताए ।
















प्रतिक्रिया दिनुहोस्