काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ले पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा आफ्नो भूमिका पूर्ण रूपमा पार्टीको विधानअनुसार भएको स्पष्ट पारेका छन्।
नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले आफूलाई पूर्वमुख्यमन्त्री लामाले ‘घात गरेको’ भन्दै आरोप लगाएको विषयमा प्रतिक्रिया जनाए ।
“बहादुर सिंह लामाले मुख्यमन्त्रीको नेतृत्व गरिरहेका बेला मैले कुनै घात गरेको होइन। अविश्वास प्रस्ताव दर्ता भएपछि संसदीय दलको सचिवको हैसियतले म प्रक्रियामा गएको हुँ, जसका कारण उहाँ अल्पमतमा पर्नुभयो र विश्वासको मत गुम्नुभयो। यो त विधानमै उल्लेख भएको प्रक्रिया हो,” मन्त्री समीरले भने।
उनका अनुसार अविश्वास प्रस्तावको प्रक्रियामा जातीय, धार्मिक तथा व्यक्तिगत लान्छनासम्मका आरोप पनि लागेको थियो। “तामाङले तामाङलाई सहयोग नगरेको भनियो, तर म पार्टीको इमानदार सिपाही हुँ र विधानअनुसार मात्र चलेको हुँ,” उनले थपे।
मन्त्री समीरले आफू कुनै धर्म वा संस्कृतिको पक्षमा नभई बागमतीका जनताको पक्षमा रहेको बताउँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकार ‘फास्ट ट्र्याक’मा अघि बढ्ने विश्वास व्यक्त गरे।
२० साउनमा मुख्यमन्त्री इन्द्र बानिया नेतृत्वको सरकारमा खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री नियुक्त भई सरकारका प्रवक्ताको जिम्मेवारी उनले पाएका थिए ।
कार्यक्रममा कार्यक्रमको अवसरमा प्रवक्ता तामाङले बागमती प्रदेश सरकार गरिब-दुःखी तथा बाढी-पहिरो पीडितको सरकार भएको बताउँदै क्याबिनेटको पहिलो बैठकले नै विपद न्यूनीकरण तथा गरिबको पक्षमा काम गर्ने निर्णय गरेको दाबी गरे।















प्रतिक्रिया दिनुहोस्