काठमाडौँ । फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच संस्थाको सहयोगमा अध्ययन गरिरहेका सिन्धुपाल्चोकका १९ र सोलुखुम्बुका १ गरी २० जनालाई स्टेशनरीसहितका शैक्षिक सामग्री प्रदान गरिएको हो । साथै ती सबै विद्यार्थीको पढाइको सम्पूर्ण खर्च संस्थाले व्यहोर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले परिवर्तन हाम्रो पालामै सम्भव छ भन्दै विद्यार्थीहरूलाई कडा मिहिनेत गर्न प्रेरणा आग्रह गरे । संस्थाले गरिरहेको प्रयासलाई समाज परिवर्तनतर्फको सार्थक पाइला भएको उनले बताए ।
मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले गरिरहेको कामप्रति प्रशंसा व्यक्त गर्दै मेलम्ची नगरपालिकाले आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाले सरकारकै कामलाई बोकेको भन्दै त्यसको सदुपयोग गर्दै भोलिका दिनमा विद्यार्थी आफैं पनि संस्थालाई सहयोग गर्ने दिशामा लाग्न सुझाव दिए ।
फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले विगत १० वर्षदेखि शैक्षिक र जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष अनिल तामाङले जानकारी दिए । आफ्नो ब्यक्तिगत मोह त्यागेर सयौं विद्यार्थीको भविष्यको लागी अगाडी बढेको बताउँदै हालसम्म ७३ जना विद्यार्थीलाई शिक्षामा सहयोग पुर्याइसकेको तामाङले जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरू तथा पूर्व लाभान्वित विद्यार्थीहरूले संस्थाले उपलब्ध गराएको सहयोगले आफूहरू उच्च शिक्षा हासिल गर्न सफल भएको अनुभव सुनाउँदै संस्था प्रति गहिरो आभार प्रकट गरे ।















प्रतिक्रिया दिनुहोस्