चौतारा ।
नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकको चौथो विस्तारित बैठक आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं पूर्व सांसद सुभाष कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बैठकको संगठनका सचिव डोलबहादुर घलेले सहजीकरण गरेका थिए । अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलले स्वागत मन्तव्य राख्दै संगठनको भूमिका र भावी योजनाका विषयमा प्रकाश पारे ।
कार्यक्रममा केन्द्रीय सदस्य सिन्धुपाल्चोक जिल्ला इन्चार्ज मेघनाथ भट्टराईले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै अघिल्ला वर्षहरूमा पूर्ण रूपमा सक्रिय हुन नसके पनि आगामी दिनमा सिन्धुपाल्चोकको संगठनलाई अझ मजबुत र क्रियाशील बनाउने दृढता व्यक्त गरे ।
त्यस्तै बागमती प्रदेश सह इन्चार्ज पुरुषोतम दाहालले पेशागत संगठनमा लाग्दै आन्दोलनबाट सहिद भएका व्यक्तिको सम्झनामा विविध कार्यक्रमा गर्ने र बागमती प्रदेश कमिटीको बैठक सिन्धुपाल्चोकमा राख्ने प्रावधान मिलाउने प्रतिवद्ध ब्यक्त गरे ।
कार्यक्रममा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सहकारीको लेखा परीक्षण तथा नवीकरणपछिको प्राथमिकता सिन्धुपाल्चोकका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सदस्यता दिलाउने रहेको जानकारी दिए ।
प्रमुख अतिथि कर्माचार्यले निजामती कर्मचारीहरू राष्ट्र निर्माणका प्रमुख अंग भएको उल्लेख गर्दै कर्मचारीहरूको हक–हित, आवाज र संगठनको सशक्तिकरणमा निरन्तर लाग्न आह्वान गरे । उनले कर्मचारीहरूको योगदानलाई धन्यवाद दिँदै राजनीतिक दल र कर्मचारी संगठनबीचको सकारात्मक सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
बैठकले संगठनका आगामी योजना, सदस्यता विस्तार, सहकारी सुदृढीकरण तथा कर्मचारी हितका विविध पक्षमा विस्तृत छलफल गरेको छ । कार्यक्रममा प्रदेश सह इन्चार्ज, इन्चार्ज तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्