हेटौँडा ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा बागमती कांग्रेसका सभापति इन्द्र बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तै देखिएको छ । नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएसँगै बानियाँ अब सत्ता नेतृत्वमा उक्लिन लागेका हुन् ।
बानियाँले संसदीय दलको नेतामा चयन भएसँगै दिएको पहिलो सार्वजनिक अभिव्यक्तिमा वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिन आग्रह गरेका थिए । सोही अनुरुप लामाले पनि परिस्थिति बुझेको देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामा राजीनामाको तयारीमा छन् भने उनी आफ्ना नजिकका सांसदहरूसँग परामर्शमा व्यस्त छन् ।
वि.सं. २०४४ सालदेखि राजनीतिमा सक्रिय बानियाँ मकवानपुरमा कम्युनिष्टको गढ तोड्दै संविधानसभा सदस्य बनेका थिए । उनले विगतमा संस्कृति, पर्यटन तथा गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए । सामाजिक र राजनीतिक क्षेत्र दुवैमा सक्रिय रहेका बानियाँ अहिले बागमती प्रदेशको सशक्त नेतृत्वका लागि कांग्रेसभित्र सर्वसम्मत नेतृत्वको रूपमा स्थापित हुँदै छन् ।
बागमती प्रदेशमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता, कार्यक्षमता अभाव, र आन्तरिक असन्तुलनलाई समाधान गर्ने नेतृत्वको आवश्यकता थियो । बानियाँको सम्भावित नेतृत्वले अब सरकारलाई स्थायित्व, पारदर्शिता र जवाफदेहितातर्फ उन्मुख गराउने जनअपेक्षा रहेको छ । कांग्रेसको एकमत र जनस्तरको समर्थनले बानियाँमाथि प्रदेश राजनीतिमा परिणाममुखी सुधार ल्याउने पनि जिम्मेवारी थपिएको छ ।















प्रतिक्रिया दिनुहोस्