मेलम्ची।
नेपाल विद्युत प्राधिकरण हेलम्बु-मेलम्ची वितरण केन्द्रमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरू गरेका छन् ।
दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक-पटक सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले नेपाल विद्युत प्राधिकरण हेलम्बु- मेलम्ची वितरण केन्द्रलाई माग पत्र बुझाएको संघर्ष समितिका अमृत ढकालले बताए । उनले माग पत्र बुझाउँदै आगामी आन्दोलनका कार्यक्रमहरूबारे जानकारी समेत गराएका छन् । यहाँ दैनिक ज्यालादारीको रूपमा १५ जनाले वर्षौ देखि काम गरिरहेको आन्दोलन पक्षले बताएको छ ।
२०८० साउन ३१ गते सम्पन्न ९४९ औं सञ्चालक समिति बैठकबाट दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भइसकेको हो । त्यसयता पटक–पटक सहमति र सम्झौता भए पनि कार्यान्वयनमा कुनै पहल भएको छैन ।
संघर्ष समितिले २०८२ वैशाख ७ गते अन्तिमपटक निर्णय कार्यान्वयनको लागि ध्यानाकर्षण गराएको थियो। त्यसपछि गत असार २३ गते कार्यकारी निर्देशकको उपस्थितिमा भएको छलफलमा एक साताभित्र निर्णय कार्यान्वयन गरिने भनिए पनि हालसम्म कुनै ठोस कदम चालिएको छैन ।
संघर्ष समितिले वार्ता संवाद तथा माग सम्बोधनको सुनिश्चितता नदेखिएकाले बाध्य भएर साउन ८ गतेसम्म सबै कर्मचारीले दुई घण्टा कालो पट्टी बाँधेर काम गर्ने । साउन ९ गते सम्पूर्ण प्रादेशिक तथा डिभिजन कार्यालयहरूमा कालो पट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको छ ।
साउन १२ गतेदेखि प्राधिकरणको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्ना सुरू गरिने आन्दोलनरत पक्षले बताएको छ ।















प्रतिक्रिया दिनुहोस्