images
images

बलेफी गापाको ५ नम्बर वडालाई बालमैत्री वडा घोषणा

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले उक्त वडालाई बालमैत्री घोषणा गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा १२ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिमा उल्लेखित सूचकहरू पूरा गरी वडालाई बालमैत्री घोषणा गरिएको वडाध्यक्ष यादव ठकुरीले प्रस्ट पारे ।
त्यसैगरी कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले वडामा बालमैत्री स्थानीय शासन समिति गठन गरी १५ वटा संस्थागत सूचकहरू पूरा गरिएको बताए ।

बालअधिकारकर्मी कृष्ण पराजुलीले वडाले जन्मदर्ता, यातनारहित वातावरण, बालश्रममुक्त समाज, पोषणयुक्त आहार, सरसफाइजस्ता दशवटा संरक्षणसम्बन्धी र १४ वटा स्वास्थ्य तथा पोषणसम्बन्धी सूचकहरू सफलतापूर्वक पूरा गरेको जानकारी दिए । त्यस्तै, वडाले ६ वटा बाल विकासका र ६ वटा बाल सहभागितासम्बन्धी सूचकहरूसमेत पूरा गरेको जनाइएको छ ।

images
images

बालअधिकार राष्ट्रिय सहजकर्ता विश्वप्रसाद चोभेले बालमैत्री वडा घोषणाले सुशासन प्रवर्द्र्धन गर्ने विश्वास व्यक्त गरे। उनले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न बालमैत्री स्थानीय सरकार अपरिहार्य रहेको समेत उल्लेख गरे ।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ र ७, मेलम्ची नगरपालिका वडा नं ७ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ । घोषणा कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बालसमूह, सेवा प्रदायक संघसंस्थाहरू, विद्यालय, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूको सहकार्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्