सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाको आठौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाले ९९ करोड ४४ लाख ३० हजार बजेट सभामा पेश गरेको छ। गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले उक्त बजेट पेश गरेकी हुन्।
आर्थिक वर्ष २०८२, ८३ मा विभिन्न शीर्षकमा गरी जम्मा ९९ करोड ४४ लाख ३० हजार रुपैयाँ आयव्यय हुने अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ। जसअन्तर्गत संघीय वित्तीय समानीकरणतर्फ १३ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँड तर्फ ८ करोड ८७ लाख ६७ हजार, संघीय समपुरक अनुदानतर्फ १ करोड २९ लाख, विशेष अनुदानतर्फ ६९ लाख, संघीय सशर्त अनुदानतर्फ २८ करोड ३७ लाख गरी जम्मा ५२ करोड ९४ लाख ६७ हजार तथा वाग्मती प्रदेशतर्फ वित्तीय समानीकरणमा १ करोड ४६ लाख ९ हजार, सवारी कर बाँडफाँडतर्फ ३ करोड १६ लाख ९० हजार, सशर्त अनुदानतर्फ ३ करोड ५ लाख ३० हजार, समपुरक अनुदान तर्फ ९५ लाख र विषेश अनुदानतर्फ ६५ लाखलगायत शीर्षक उल्लेख छ ।
साथै, आर्थिक वर्ष २०८२, ८३ को लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, न्यायिक समितिको प्रतिवेदन र विविध प्रस्तावहरू सभाले पारित गरेको छ। गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष शशीनाथ आचार्यले पेश गरेको इन्द्रावती गाउँपालिकाको आर्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रम त्यसैगरी वडा नम्बर ७ का अध्यक्ष रवीन्द्रकुमार खातीले सभामा पेश गरेको आर्थिक विधेयक २०८२ र न्यायिक समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो।
साथै विनियोजन विधेयक २०८२ तथा आर्थिक विकास कार्यक्रम बजेट भने असार २७ गते बस्ने गाउँसभाको दोस्रो बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने सभाका अध्यक्ष झम्कानाथ नेपालले जानकारी दिए ।
नीति तथा कार्यक्रममा कृषितर्फ बगर खेती कार्यक्रम सञ्चालन गरी इन्द्रावती नदी किनारको उत्पादनशील जग्गाको सदुपयोग र सामूहिक रूपमा सम्भावित उच्च मूल्यको बाली आलु तरबुजालगायतका कृषि उपजहरू खेती गरी कृषकको जीवनस्तरमा आर्थिक वृद्धि ल्याइने जनाएको छ। साथै कृषि तथा पशुपालनसम्बन्धी पाँचवर्षीय योजना तयार गर्ने र वडा नम्बर १, २ र ४ मा सिस्नो प्रशोधन उद्योग स्थापना गर्न विशेष जोड दिइने नीति तथा कार्यक्रममा जनाइएको छ। त्यस्तै वडा नम्बर १ २ ३ र ४ लाई लप्सी पकेट क्षेत्र घोषणा गरी लप्सीजन्य यद्योग स्थापनामार्फत स्वरोजगार वृद्धि गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ
त्यस्तै शिक्षातर्फ पालिकाबाट एसइर्इमा उत्कृष्ट अङ्क हासिल गरी माथिल्लो कक्षामा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्नातक तहसम्मको शैक्षिक शुल्क गाउँपालिकाको तर्फबाट बेहोरिने र विपन्न नागरिकमध्येका उत्कृष्ट एक छात्र र एक छात्रालाई उच्च शिक्षा हासिल गर्न शैक्षिक छात्रवृत्ति दिने जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्