images
images

इन्द्रावती गापालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको छ ।
राष्ट्रिय पूर्णखोप सुनिश्चितता निर्देशिकाबमोजिम गाउँपालिकाभित्रका सबै वडाहरूमा १६ महिना देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित भएकाले गाउँपालिकामा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गरिएको हो ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाभित्रका स्वास्थ्य कार्यालयहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू स्वास्थ्य स्वयंसेविकाहरुलगायत सबैको योगदान र मेहनतले गर्दा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्ने दिनसम्म आइपुगेको बताए । यो एउटा खुसीको कुरा हुनुका साथसाथै यसलाई निरन्तरता र दिगो बनाउन चुनौती थपिएकाले यस चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्न सकेमा यसलाई निरन्तरता दिन सहज हुने उनको भनाइ छ ।
करिब ४८ वर्षअगाडि नेपालमै पहिलोपटक पाइलट प्रोजेक्टको रुपमा सिन्धुपाल्चोकलगायत तीन जिल्लाहरूमा यो कार्यक्रम शुरु गरिए पनि २०७२ सालमा मात्रै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु अलि ढिला भएको बताउँदै जसअन्तर्गत इन्द्रावती गाउँपालिका पनि यसवर्ष पहिलोपटक पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको उनले जानकारी दिए । गाउँपालिकाले अवलम्बन गरेको नीतिलाई व्यवहारमा लागू गरी यो कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनेहरु सबैप्रति अध्यक्ष नेपालले धन्यवाद ज्ञापन गरे ।
सबैको प्रत्यक्ष सहयोग र मेहनत तथा चासोले गर्दा यो सफलता हासिल गरेको बताउँदै गाउँपालिका उपाध्यक्ष शोभना तामाङले यसलाई निरन्तरता दिन जरुरी रहेको बताइन् ।
यो राष्ट्रिय कार्यक्रम भएकाले यसलाई निरन्तरता दिने कार्यमा निरन्तर लाग्न गाउँपालिकालाई आग्रह गर्दै जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले स्वास्थ्यकर्मीहरूका साथसाथै स्थानीय नागरिकहरूले समेत यस कार्यक्रममा साथ दिएकाले यो सम्भव भएको धारणा राखे । साथै यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोमा गाउँपालिकालाई बधाई ज्ञापन गर्दै पूर्ण खोप सुनिश्चितता र दिगोपनको प्रमाणपत्रसमेत प्रदान गरे ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर ७ का अध्यक्ष रवीन्द्रकुमार खाती र वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरीलगायतले यस अवसरमा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गर्न साथ र सहयोग गर्ने स्वास्थ्यकर्मी स्वास्थ्य स्वयंसेविकालगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।
जनस्वास्थ्य अधिकृत सुनिल न्यौपानेले यो एउटा इतिहास बोकेको कार्यक्रम रहेको बताउँदै शुरुमा दुईवटा खोपबाट शुरु भई अहिले १४ वटा खोप निःशुल्करुपमा प्रदान गर्दै आइरहेको जानकारी दिए । साथै कुनैकुनै स्थानीय तहले विद्यार्थीको विद्यालय भर्नाको समयमा खोपकार्ड अनिवार्य गर्ने गरेको जानकारी दिँदै इन्द्रावती गाउँपालिकाले पनि यसलाई शुरु गर्न सके खोप अभियानलाई पनि प्रभावकारी बनाउन थप सहयोग पुग्ने उनले बताए । गाउँपालिकामा अघिल्लो वर्ष खोप लगाउन छुटेका दुई जना लक्षित उमेरका बालबालिका पाइएकोमा यस वर्ष त्यो शून्य रहेको पनि उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गरेको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू कार्यपालिका सदस्य, विभिन्न वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू महिला स्वास्थ्य स्वयंसेविकाहरू गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरू, स्वास्थ्यकर्मीहरूलगायतको उपस्थितिमा कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्