नेपालले आजबाट बंगलादेशलाई ४० मेगावाट विद्युत व्यावसायिक रूपमा पहिलोपटक निर्यात शुरू गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुरू गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नेपालले बंगलादेशलाई विद्युत् निर्यात गर्नाले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको दाबी गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । ऊर्जामन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो । ऊर्जामन्त्री खड्काको ठूलो प्रयास र मेहनतपछि भएको सो सम्झौताअनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासॅगै बंगलादेश विद्युत् निर्यात गर्न लागिएको हो ।
यसअघि सम्झौता भएसॅगै १ दिन विद्युत् बिक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ ।
यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई बिक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभी मार्फत बिक्री गर्न लागिएको हो । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइन हुँदै बेहरामपुर भारत–भेडामारा बंगलादेश ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश पुग्नेछ ।
विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुनेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात गर्ने सहमति भएको छ भने भारत सरकारले पनि प्रसारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको छ ।
नेपालमा वर्षायाममा बढी भएको विद्युत्मध्ये ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ ।
प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्ने सहमति छ ।
नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, बीपीडीबीले शुल्क तिर्नेछ ।















प्रतिक्रिया दिनुहोस्