नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन् ।
नेपाल गण्डक पश्चिम नहर सिंचाइ व्यवस्थापन कार्यालयले नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुवान र सिंचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । “यस क्षेत्रका माननीयज्यूले मलाई यो कार्यक्रममा आउनुअघि नै भनिसक्नुभएको छ कि यहाँ रहेका ६ वटा नदीहरुमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,”– उmर्जामन्त्री खड्काले भने ।
मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रोपटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताए । उनले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताए ।
कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साबिकभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिंचाइ सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए ।
“यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिँचाइका लागि जुन संघर्ष गर्नुपरेको थियो, तपाईंहरुको पीडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,”– उनले भने ।
सांसद चौधरीले उक्त क्षेत्रको डुबानको समस्या समाधानका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेर दीर्घकालीन समाधान निकाल्नसमेत मन्त्री खड्कालाई आग्रह गरे ।
नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन रु ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो । वि.सं २०३९ सालमा निर्माण भएको नहरको सिंचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो ।
आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनुका साथै ८ हजार ७ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्नेछ ।















प्रतिक्रिया दिनुहोस्