images
images

स्वास्थ्य शिबिरबाट बाह्रबिसे क्षेत्रका झन्डै पाँच सय लाभान्वित

सिन्धुपाल्चोक- बाह्रबिसे नगर अस्पतालमा भएको स्वास्थ्य शिबिरबाट ४ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
महिलाहरुका लागि समस्या हुने पाठेघर तथा स्तन क्यान्सरबाट पीडित भएका र अस्पताल जान नसकेका महिलाहरुलाई मध्यनजर गर्दै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर संचालन गरेको वडाध्यक्ष विमल पौडेलले बताए ।
पछिल्लो समय महिलाहरुमा देखा परेको पाठेघर, तथा स्तन क्यान्सर र स्किन क्यान्सर जस्ता समस्या बढ्दै गएको छ । अस्पताल जान कतिपयले लाज मान्ने त कतिपयमा पैसा अभाव हुँदा उपचार गराउन नसकेकाहरुले शिविरबाट भरपुर लाभ लिएका छन् । समस्या हुँदाहुँदै पनि कतिपय महिलाले लाजले रोग लुकाउने र नभनी बस्ने गरेकाहरुले शिविरमा स्वास्थ्यकर्मीमाझ खुलेर समस्या बताएका छन् ।
शिविरमा स्वास्थ्य परीक्षाण गर्न आएका ४ सय ८० मध्ये ३ सय ७१ जनाको स्वास्थ्य परीक्षणपछि पाठेघरको स्तन क्यान्सर, स्किन क्यान्सर तथा स्त्रीरोगसम्बन्धी समस्याको नमुना संकलन गरेर भक्तपुर क्यान्सर अस्पताल लगिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सिर्जना कटुवालले बताइन्।
परीक्षणमा आएका अधिकांश महिलाहरुमा पाठेघर दुख्ने, पोल्ने, पाठेघर वा आङ खस्ने, सेतो पानी बग्ने जस्ता धेरै समस्या पाइएको छ । उनीहरुको नमुना पठाएको र नमुनापछि अस्पतालले रिपोर्ट पठाएअनुसार उनीहरुको उपचार गरिने डाक्टर कटुवालले बताइन् । सेवा लिन पुगेका महिलाहरूको सामान्य स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, स्तन र पाठेघर स्क्रिनिङलगायत कार्य गरिएएको थियो । परीक्षणमा सहभागी ३७१ महिलामा विभिन्न किसिमका स्वास्थ्य समस्या पत्ता लागेका छन् भने ७ महिलामा पाठेघरसम्बन्धी गम्भीर समस्या देखिएकाले थप उपचारका लागि सिफारिस गरिएको छ ।
शिविर सञ्चालन भक्तपुर क्यान्सर अस्पतालले आयोजना गरेको थियो भने बाह्रबिसे नगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गरेको थियो । त्यस्तै, साथी फाउन्डेसन नेपालले शिविरका लागि समन्वय गरेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।
स्वास्थ्य शिविरमा पुगेका काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले यस्तो शिविर गाउँबस्तीमा बेलाबेलामा गरिरहनुपर्ने बताए । रकम अभावमा अस्पतालसम्म जान नसक्ने महिलालाई यस्ता खाले स्वास्थ्य शिविर फलदायी हुने उनले उल्लेख गरे ।
त्यस्तै, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आउँदा दिनहरूमा गाउँघरमा हुने बिरामीका समस्या पत्ता लगाएर यस्ता स्वास्थ्य शिविर सञ्चालनका लागि नगरपालिकाले पहल गर्ने बताए ।
शिविरमा संकलन भएका ३ सय ७१ नमुना भक्तपुर क्यान्सर अस्पतालमा लगिएको छ । अस्पतालले नमुना लगेका बिरामीहरुको रिपोर्ट छिट्टै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ । अस्पतालले रिपोर्टका आधारमा उनीहरुको उपचार गर्ने बताएको छ। शिविरमा भने स्वास्थ्य परिक्षणका लागि आउने महिलाहरुको सङ्ख्यामा निकै वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्