सिन्धुपाल्चोक- विश्व वातावरण दिवस २०२५ मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ।
वातावरण संरक्षण तथा प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणमा जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची ११का वडाध्यक्ष चन्द्रबहादुर तामाङले वातावरणमा दिनानुदिन देखिँदै गएको असन्तुलन र जलवायु परिवर्तनको असरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै मिलेर वातावरण जोगाउन जिम्मेवार रहेको बताए।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव टीका सुवेदीले वातावरण संरक्षणमा नागरिकहरु भूमिका महत्वपूर्ण बताउँदै प्लास्टिक नियन्त्रण र वन संरक्षणमा सबैले आवाज उठाउनुपर्ने बताए । उनने जनस्तरसम्म सूचना पुर्याउन चेतना फैलाउने काममा सबै नागरिक सचेत भएर लाग्नुपर्ने, प्लास्टिकको प्रयोग नियन्त्रण गर्न नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै तहको सरकार जिम्मेवार हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रकाश जैसी ढकालले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा स्थानीय सरकारको जिम्मेवारीबारे प्रकाश पार्दै “मुटु जोगाउन वातावरण जोगाऔं भने।” उनले प्लास्टिकका सामग्री प्रयोगमा रोक लगाउन अनुरोधसमेत गरे ।
त्यस्तै, “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण ः हाम्रो दायित्व” विषयमा बोलेका सब डिभिजन वन कार्यालय मेलम्चीका अधिकृत बच्चुराम पुडासैनीले शहरी क्षेत्रमा वन संरक्षण कार्यक्रमको आवश्यकता औंल्याउँदै सामुदायिक वन उपभोक्ताहरूको सहकार्य बिना दिगो समाधान सम्भव नभएको बताए । “हामीले प्रयोग गर्ने सामग्रीहरू वातावरणमैत्री हुनु अत्यन्त जरुरी छ,” उनले भने ।
कार्यक्रममा सचेतना र्याली गरोएको थियो। मेलम्ची नगरका विभिन्न स्थान परिक्रममा गरिएको र्यालीमा “प्लास्टिक प्रयोग घटाऔं, वन जोगाऔं, वातावरण बचाऔं” जस्ता नारा लेखिएका पोस्टर तथा ब्यानरसहित स्थानीय बासिन्दा, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी र वन उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको आयोजक सब डिभिजन वन कार्यालय मेलम्ची तथा सह–आयोजक सामुदायिक वन उपभोक्ता महासंघ र मेलम्ची नगर महासंघ रहेका थिए। सहभागीहरूले प्लास्टिकजन्य फोहोर कम गर्न, वृक्षरोपण गर्न र वातावरणमैत्री जीवनशैली अपनाउन प्रतिबद्धता जनाएका थिए।















प्रतिक्रिया दिनुहोस्