काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी संवाद व्यवस्थापन समितिका संयोजकसमेत रहेकी मन्त्री राणाले सो कुराको जानकारी दिइन् । काठमाडौँमा आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवाद ६ वटा विषयमा केन्द्रित हुनेछ ।
संवादको मुख्य उद्देश्य ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ रहेको छ । सगरमाथा संवादमा मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सरगमाथा संवाद २०२५ लाई सम्बोधन गर्ने भएको छ ।
परराष्ट्रमन्त्री डा. राणाले संवादका मुख्य कार्यक्रममा आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरु सहभागी हुने संवादको मुख्य औपचारिक कार्यक्रम रहेको बताइन् । त्यस्तै प्रधानमन्त्री ओलीबाट सम्बोधन हुने यस समारोहमा परराष्ट्रमन्त्री डा. राणाले स्वागत मन्तव्य दिनेछिन् ।
यसैगरी, उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डहरुको नेतृत्व गरेर आउने विशिष्ट पाहुनाहरु र सिओपी २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ ।
यसैगरी, संवादमा सहभागी हुने सबै राष्ट र अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय सङ्गठनलाई बोल्न दिइनेछ । हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्ड समावेश छन् ।















प्रतिक्रिया दिनुहोस्