परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका उत्तरी नाकाहरु व्यवस्थित बनाउन आवश्यक रहेको बताएकी छन् ।
शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंम्वर – २ मा रहेको तातोपानी धारा स्नान गृह भवनको उद्घाटन कार्याक्रममा मन्त्री राणाले देशका दक्षिणका नाकाहरुको तुलनामा उत्तरी नाकाहरु अधिक विकट र क्षतिग्रस्त रहेको बताइन् । दक्षिणका नाकाहरु पुग्न सहज छ तर उत्तरी नाकाहरुमा आवतजावतमा निकै समस्या रहेको मन्त्री राणाले भनाइ छ । पुरानो र महत्वपूर्ण उत्तरी नाकासम्म पुग्ने सडक र भौतिक पूर्वाधारहरु निर्माण गरी दीर्घकालीन फाइदा पुग्ने गरी काम गर्नु अहिलेको आवश्यकता भएको राणाले बताइन् । नेपाल-चीन सीमा क्षेत्रको मुख्य नाका तातोपानीको अवलोकन गर्दा तत्काल यसको सुधार आवश्यक देखिएको मन्त्री राणाको भनाइ छ । यसको व्यवस्थापन गरी देशले दीर्घकालीन लाभ लिन प्रधानमन्त्री र अर्थमन्त्रीसँग तत्काल संवाद गर्ने उनले जानकारी दिइन् । एकपटक खर्च गर्दा देशको आयस्रोत बढ्ने राणाले विश्वास व्यक्त गरिन् ।
भोटेकोशी गाउँपालिकाले स्नान भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री तथा सिन्धुपाल्चोक २ नं क्षेत्रका सांसद मोहनबहादुर बस्नेतले तातोपानीको पुनर्निर्माण राष्ट्रिय इज्जतको विषय भएको बताए । उनले नेपाली कांग्रेसले एकछत्र विकासको नेतृत्व गरेको बताउँदै विकासका काम निरन्तर गरिरहने बताए ।
कार्यक्रममा भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र उपाध्यक्ष दीक्षेन शेर्पाले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेश सभाका सदस्य मसिना खड्का, कृष्णकुमार तामाङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतलगायतको उपस्थिति थियो ।













प्रतिक्रिया दिनुहोस्