images
images

मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो : शाही

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूसँग बहस गर्ने भए इतिहास पढेर आउनु भन्ने एमाले सांसद रघुजी पन्तलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले संसद्‌मा जे मन लाग्यो त्यो बोल्न नहुने बताएका छन् ।

पन्तले राजाको कालमा हत्याका घटनाहरू भएका थिए भन्नेबारे अभिव्यक्ति दिएपछि शाहीले संसद्‌मा जवाफ दिँदै भने, मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।

images
images

शाहीले पटक-पटक सरकारको नेतृत्व गरेको एमालेलाई मदन भण्डारीको हत्याको याद आयो कि आएन भनेर पनि प्रश्न गरे।
शाहीले भने- हत्याको कुरा गर्नुहुन्छ ? राष्ट्रपति तपाईंहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो। संसद्‌मा दुई तिहाइ थियो अनि मदन भण्डारीको हत्याको याद आएन ? उनले प्रश्न गरे, निर्मला पन्तको हत्यारा पत्ता लगायौ ? बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्‌मा सांसद बनेर हिँडिरहेका छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?
शाहीले सिन्धुपाल्चोक पुगेर शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा, तस्कर र मूर्तिचोरको गम्भीर आरोप लगाएका थिए ।

शाहीले प्रश्न गरे, खुलामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउँछ ?

 

प्रतिक्रिया दिनुहोस्