images
images

स्ववियु र विव्यस चौतारामा एमाले-कांग्रेसको सहकार्य

सिन्धुपाल्चोक । चौतारा बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुने भएको छ ।
निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सुशील तामाङलाई स्ववियु सभापतिको साझा उमेद्वार बनाइएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको सदरमुकाम केन्द्रमा रहेको जिल्लाकै शैक्षिक धरोहरको रुपमा परिचित विद्यालय कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको शनिबार हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा समेत दुई ठूला दल एमाले र कांग्रेसको सहकार्य भएको छ । विव्यसको निर्वाचनको लागि साझा उमेद्वार निमेष श्रेष्ठ तय गरिएको छ । विव्यसको चार सदस्यको लागि हुने निर्वाचनमा श्रेष्ठसहित विन्दा पुरी, निमा ग्याल्जेन लामा र लजिता श्रेष्ठ नेकपा एमाले र नेपाली काग्रंसको तर्फबाट उमेद्वार बनाइएका हुन् ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष दीपक नेपाल र नेपाली कांग्रेस नगर सभापति इन्द्रलोचन धितालले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु र विव्यसमा आधिकारिक उमेद्वारलाई निर्वाचित गराउन अपिल गरिएको छ । स्ववियु सभापतिमा सुशील तामाङ, सचिव चिनलाल तामाङसहितको साझा उमेद्वारलाई जिताउन दुवै पार्टीले आह्वान गरेका छन् ।
शिक्षा क्षेत्रको सर्वपक्षीय हित र सर्वाङ्गीण विकासलाई केन्द्रित गरी सहकार्य गरिएको र सहकार्यबाट अपेक्षित नतिजा प्राप्त हुनेमा दुवै पार्टी विश्वस्त रहेको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्