काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा जान मन भए राजनीतिक दल खोलेर चुनावमा उठ्न सुझाव दिएका छन् ।
एउटा नागरिकको हैसियतले पूर्वराजालाई पार्टी खोल्न स्वतन्त्रता रहेको पूर्वसभामुख सापकोटाको भनाइ छ ।
सापकोटाका अनुसार संविधानसम्मत आफ्ना गतिविधि गर्ने अधिकार र छुट सबै नागरिकलाई छ । एउटा नागरिकको हैसियतमा संविधानतः सबै अधिकार पूर्वराजाले उपभोग गर्न सक्छन् ।
अन्यथा, परिस्थिति प्रतिकुल बन्न सक्ने सापकोटाको चेतावनी छ ।
नेपाली जनताले रगतको खोलो बगाएर प्राप्त गरेको संविधानअन्तर्गत बसे मात्रै सबैको कल्याण हुने सापकोटाको दाबी छ ।
उनले दश वर्षे माओवादी सशस्त्र विद्रोह, २०६२-०६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको उल्लेख गरे ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा काठमाडौंमा राजतन्त्र पक्षधरहरूले शक्ति प्रदर्शन गरेका थिए । विभिन्न जिल्लाको भ्रमण गरेर पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्किएका थिए । उनी काठमाडौं फर्किँदा राजतन्त्र पक्षधरहरूले उनको स्वागतमा र्याली निकालेर शक्ति प्रदर्शन गरेका हुन् ।
पूर्व सभामुख सापकोटाले जनताको साथमा प्राप्त भएका उपलब्धि उल्ट्याउन नहुने ख्याल गर्न पूर्वराजालाई सुझाएका छन् ।















प्रतिक्रिया दिनुहोस्