images
images

कांग्रेसले थाल्यो मिसन रोजगारी अभियान

काठमाडौं । नेपाली कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको छ । बढ्दो बेरोजगारीका कारण देश छाड्ने युवा बढिरहेका बेला कांग्रेसले रोजगारीको बहस थाल्न खोजेको छ ।
अभियानकै रूपमा एक वर्षसम्म चलाउन खोजिएको बहस दुई चरणमा सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । मिसन रोजगारीको क्रममा रोजगारीका क्षेत्र र सम्भावनामाथि सबै क्षेत्रमा बहस चलाउने कांग्रेसको योजना छ । यसले समस्याको पहिचान र समाधानको उपाय खोजी गर्न सहज हुने कांग्रेस महामन्त्री गगन थापाको भनाइ छ ।

महामन्त्री थापाका अनुसार राजनीतिक छलफल, संसद् वा अन्य स्थानमा रोजगारकेन्द्रित बहस हुन नसकेका बेला कांग्रेसले मिसन रोजगारी अभियान सुरु गरेको हो ।

images
images

अभियान शुरु गर्दै महामन्त्री थापाले रोजगारी राजनीतिक र प्रतिस्पर्धाको मुद्दा नभएको स्पष्ट पारेका छन् ।

मिसन रोजागारी अभियानमा प्रारम्भमा विभिन्न क्षेत्रसँग प्रारम्भमा संवाद गरिने भएको छ । फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग संवाद हुँदा त्यसबाट समस्याको पहिचान हुने कांग्रेसको विश्वास छ ।

साथै, रोजगारी सिर्जना गर्न सकिने माध्यम र समस्याका बारेमा पार्टीकै तर्फबाट अध्ययन र अनुसन्धान गरिने कांग्रेसले जनाएको छ । संवादका लागि छुट्याइएका विषयमा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्यलगायत छन् ।

पार्टीभित्रबाट नै रोजगारीका सन्दर्भमा अध्ययन अनुसन्धान गर्न समूह बनाउने कांग्रेसले जनाएको छ । आन्तरिक समूहमा अनुसन्धानकर्ता, विज्ञ, इन्टर्न, पार्टीका विभिन्न विभाग र संयन्त्र सम्मिलित हुनेछन् ।

अभियानका क्रममा रोजगारी सिर्जना गर्न भएका समस्या निराकरणका लागि स्वतन्त्र अनुसन्धानकर्ता, विश्वविद्यालय, थिंक ट्यांक, अनुसन्धान संस्था, सरकारका संरचना, सरकारी–गैरसरकारी संस्थासँग सहकार्य गरिनेछ ।
बढ्दो बेरोजगारीका कारण युवा पलायन बढिरहेका बेला कांग्रेसले मिसन रोजगारी कार्यक्रम अगाडि बढाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्