images
images

मेलम्ची नगरपालिकाले ल्यायो १ अर्ब ६५ करोड बढीको बजेट, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधार विकासमा प्राथमिकता

मेलम्ची । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६५ करोड ६३ लाख २६ हजार २ सय २२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न २१औँ नगरसभामार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत तथा पारित गरिएको हो।
नगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, युवा तथा खेलकुद, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

नगरपालिकाका अनुसार स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकास निर्माणलाई तीव्रता दिने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा समावेशी र दिगो विकासलाई केन्द्रमा राखेर बजेट तयार गरिएको छ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि जनप्रतिनिधिहरूले छलफल गरी विभिन्न सुझाव दिएका थिए। आवश्यक सुझाव समेट्दै नगरसभाले बजेट तथा नीति–कार्यक्रम पारित गरेको नगरपालिकाले जनाएको छ।
नगरसभामा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई पारदर्शी, जवाफदेही र नागरिक सहभागितामूलक बनाउँदै विकास आयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्