सिन्धुपाल्चोक |
सरकारले सीमा नाकाबाट पैठारी हुने मालवस्तुमा अनिवार्य रूपमा एमआरपी (अधिकतम खुद्रा मूल्य) निर्धारण गर्नुपर्ने नीति लागू गरेपछि आजदेखि देशभरका भन्सार कार्यालयमा आयात प्रक्रिया प्रभावित भएको छ। व्यापारीहरूले नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न कठिन हुने बताएका छन्।
भन्सार विभागले गत चैत्र ३० गते सूचना जारी गर्दै बैशाख १५ देखि नाकाबाट भित्रिने हरेक मालवस्तुमा एमआरपी उल्लेख भएपछि मात्र भन्सार पास गरिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनमा आएपछि व्यापारीहरू अन्योलमा परेका छन्।
उत्तरी नाका तातोपानी बाट सामान आयात गर्ने व्यवसायीहरूले मंगलबार तातोपानी भन्सार कार्यालयमा विभिन्न व्यवसायी छाता संगठनसँग व्यापार सहजीकरणबारे छलफल गरेका छन्। यसअघि उनीहरूले वैशाख ८ गते चोभार भन्सार कार्यालयसँग पनि यस विषयमा छलफल गरेका थिए।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत ले सरकारको नीति मान्ने तर तत्काल लागू गर्न समय अभाव भएको बताए। उनले तयारीबिना लागू गर्दा व्यवसायी समस्यामा पर्ने उल्लेख गरे।
नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगा बहादुर घिमिरे (सागर) ले वाणिज्य विभाग एमआरपी लागू गर्ने पक्षमा रहेको जानकारी दिँदै अब व्यवसायीहरूले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए।
त्यस्तै, संघका वरिष्ठ सदस्य शारदा प्रसाद पराजुली ले चीनबाट खरिद गरी पठाइसकिएका तथा गोदाममा रहेका सामानमा अहिले नै एमआरपी लागू गर्न कठिन हुने बताए।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रमेश शाह ले सरकारले शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर ८३ अनुसार आयातित वस्तुमा अनिवार्य एमआरपी नीति ल्याएको र सोही अनुसार कार्यान्वयन गर्न लागिएको बताए।
चोभार भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसी ले सरकारको निर्णय सबैले पालना गर्दै अगाडि बढ्नुपर्ने बताए।
सरकारको नयाँ नीतिपछि देशभरका भन्सार कार्यालयमा मालवस्तु जाँचपास प्रक्रिया प्रभावित भएको छ भने व्यापारी संगठनहरूले असन्तुष्टि जनाएका छन्।






प्रतिक्रिया दिनुहोस्