images
images

हेलम्बु गाउँपालिकाको आफ्नै स्रोतमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

हेलम्बु । हेलम्बु गाउँपालिकाले आफ्नै स्रोतमा स्थानीय नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकबाट उपचार तथा औषधि वितरणसहितको शिविर कात्तिक ९ गतेदेखि हेलम्बु प्राथमिक अस्पतालमा सुरु भएको हो।

गाउँपालिकाको आयोजनामा ग्रेस ब्याप्टिस्ट चर्च ताइवान र सामुदायिक सेवा प्रतिष्ठान नेपाल, भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविर कात्तिक १२ गतेसम्म चलेको थियो।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले शिविरबाट विशेषज्ञ चिकित्सकको सेवा प्राप्त भएपछि स्थानीय नागरिक लाभान्वित भएको बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईका अनुसार शिविरमा दन्त उपचार, बालरोग सेवा, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो।

त्यस्तै, महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकता दिँदै पाठेघरको मुखको क्यान्सर परीक्षण, आङ खस्ने समस्याको जाँच, स्त्रीरोगसम्बन्धी परामर्श तथा भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको थियो। पाठेघर र फिस्टुलासम्बन्धी शल्यक्रिया तथा रिङ प्रेसरी राख्ने र निकाल्ने सेवा पनि सञ्चालन गरिएको थियो।

भौगोलिक विकटता र आर्थिक अभावका कारण उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुँदा नागरिकको समय र यातायात खर्च बचत हुनुका साथै रोगको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्