सिन्धुपाल्चोक । जिल्लास्तरीय पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आठौँ संस्करण अहिले तल्लो मूलपानी क्रिकेट मैदानमा चलिरहेको छ। यस प्रतियोगिता केवल चौका–छक्का, विकेट र जित–हारको प्रतिस्पर्धामा सीमित छैन। यहाँ मैदानभित्र एउटा यस्तो दृश्य देखिएको छ, जसले क्रिकेटलाई खेलभन्दा माथि उठाएर पुस्ता जोड्ने भावनात्मक सम्बन्धको प्रतीक बनाइदिएको छ।
एउटै प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी हुनु आफैंमा दुर्लभ र प्रेरणादायी घटना बनेको छ। जिल्ला क्रिकेट सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष विजयकुमार धिताल र उनका छोरा सार्थक धिताल यस कथाका एक उदाहरण हुन्। बागमती प्रदेश अन्डर–१६ का तथा सिन्धुपाल्चोकका कप्तान र १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका सार्थकले पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। बुबाले क्रिकेटको विकासमा नेतृत्व सँगै मैदानमा सङ्घर्ष गरिरहँदा छोरा मैदानमा आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन्।
त्यसैगरी जिल्ला क्रिकेट सङ्घका सचिव तथा जिल्ला कोच अजयकुमार धिताल र उनका छोरा आदित्य धितालको यात्रा पनि उत्तिकै प्रेरणादायी छ। छैटौँ संस्करणमा दुवै जना पाँचपोखरी क्रिकेट क्लबबाट खेलाडीका रूपमा मैदान उत्रिएका थिए भने पछिल्ला दुई संस्करणदेखि अजयकुमारले टोलीको कोचको जिम्मेवारी सम्हालिरहेका छन्, छोरा आदित्य मैदानमा डटेर विपक्षी विरुद्ध गज्जबको प्रदर्शन गरिरहेका छन्। मैदानमा खेलाडीबाट प्रशिक्षकसम्मको अजयको भूमिका परिवर्तनले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उदाहरण प्रस्तुत गरेको छ।
यस्तै अनिल तामाङ र उनका छोरा अरबमान तामाङ पनि प्रतियोगितामा फरक टोलीबाट सहभागी छन्। बुबा अनिल पाँचपोखरी हिमालयन क्रिकेट क्लब भोताङबाट खेलिरहेका छन् भने छोरा अरबमान पाँचपोखरी क्रिकेट क्लबबाट आफ्नो क्षमता देखाइरहेका छन्। फरक जर्सी भए पनि दुवैको लक्ष्य क्रिकेटप्रतिको प्रेम र समर्पणलाई अघि बढाउनु नै हो।
यी तीनै बुबा–छोरा जोडी क्रिकेटको उर्वर भूमि पाँचपोखरी थाङपाल गाउँपालिकाबाट आएका हुन्। उनीहरूको सहभागिताले एउटा सन्देश दिन्छ—खेल केवल प्रतिस्पर्धा होइन, संस्कार र सपनाको निरन्तरता पनि हो।
जब बुबाले समातेको ब्याट र बलको कथा छोराले अघि बढाउँछ, तब क्रिकेट केवल खेल रहँदैन, त्यो परिवार, पुस्ता र समुदायलाई जोड्ने भावनात्मक पुल बन्छ। पाँचपोखरी टी–ट्वान्टीको यो दृश्यले प्रमाणित गरेको छ कि मैदानमा बनेका यस्ता सम्बन्धहरू ट्रफीभन्दा धेरै वर्षसम्म मानिसहरूको स्मृतिमा जीवित रहन्छन्।














प्रतिक्रिया दिनुहोस्