images
images

जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

टिपरको अत्याधिक चापका कारण जीर्ण बन्दै गएको काभ्रेकाे जिरोकिलोदेखि सिन्धुपाल्चाेककाे मेलम्ची सडकअन्तर्गत जिरोकिलो–ढाडखोला खण्डको मर्मत तथा पुनः कालोपत्रे कार्य सुरु हुने भएको छ । लामो समयदेखि स्थानीयवासीले सडकको दयनीय अवस्थाबारे गुनासो गर्दै आएका बेला सडक स्तरोन्नतिको काम अघि बढाइएको हो ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले सडक डिभिजन कार्यालय भक्तपुर, निर्माण व्यवसायीका प्रतिनिधि तथा प्राविधिकसहितको टोलीले आइतबार कार्य प्रारम्भपूर्व स्थलगत नापजाँच तथा अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार सडकको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएकाले स्थानीय नागरिकबाट निरन्तररूपमा सडक मर्मत तथा स्तरोन्नतिको माग हुँदै आएको थियो । सोही माग र नगरपालिकाको निरन्तर पहलपछि पुनः कालोपत्रे तथा मर्मत कार्य अघि बढाइएको हो ।

images
images

स्थलगत अनुगमनका क्रममा नगरपालिकाको टोलीले सडकमा रहेका जोखिमयुक्त तथा असजिला स्थानहरूको निरीक्षण गर्दै निर्माण पक्षलाई गुणस्तरीय र स्थानअनुकूल काम गर्न आवश्यक सुझाव तथा निर्देशन दिएको उपप्रमुख नेपालले बताए ।

विशेषगरी भारी सवारी साधन, विशेषतः टिपरको अत्यधिक आवतजावतका कारण सडक चाँडै बिग्रिएको स्थानीयवासीको गुनासो रहेको छ। वर्षायाममा हिलो तथा खाल्डाखुल्डीका कारण सवारी सञ्चालनमा समेत समस्या हुँदै आएको थियो ।

नगरपालिकाले सडक निर्माण कार्य समयमै सम्पन्न गरी दीगो तथा गुणस्तरीय बनाउनेतर्फ सम्बन्धित निकायलाई सचेत गराइएको जनाएको छ । उपप्रमुख नेपालले निर्धारित समयमै काम सम्पन्न हुने र नागरिकले सुरक्षित तथा सहज यात्रा गर्न पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्