सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धारपाका निवासी अंकित योञ्जन र झरना योञ्जन नाताले आमा छोरा हुन् । उनीहरू दुवैजना एशियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ का लागि नेपालको तर्फबाट औपचारिक रूपमा छनोट भएका छन् ।
अंकितले यूथ १८ वर्ष मुनिको समूहमा प्रतिस्पर्धा गर्नेछ भने झरनाले महिलातर्फ ५८ केजी तौल समूहमा सहभागी हुने छिन्। गत वैशाख ६ गते सम्पन्न बागमती प्रदेश स्तरीय प्रतियोगितामा समेत अङ्कित र झरनाले पदक हात पारेका थिए । उक्त प्रतियोगितामा अङ्कितले १८ वर्ष मुनि समूहमा पहिलो स्थान हासिल गर्दा झरनाले ६३ केजी मुनि दोस्रो स्थान हासिल गरेका थिए । साथै यसभन्दा अगाडि पनि झरनाले विभिन्न प्रतिस्पर्धाहरूमा सहभागी भई पदकहरू प्राप्त गरिसकेको उनका श्रीमान हेम योन्जनले जानकारी दिए ।
NYFC Nepal र World Powerlifting को सहकार्यमा हुने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्पूर्ण एशियाका उत्कृष्ट खेलाडीहरू एकै मञ्चमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता यही साउन ३०, ३१ र भदौ १ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ।
सम्भबत यो नै विश्वमा अन्तराष्ट्रिय प्रतियोगितामा एउटै आमा छोरा सहभागी हुने पहिलो रहेको अङ्कितका बुबा तथा झरनाका श्रीमान हेम योन्जनले बताए ।
साथै बाराबिसे ३ धारपा खेल क्षेत्रमा अब्बल रहेको बताउँदै यस वडाको ३ वटा क्लव जिल्ला लिगमा पुगेको, क्षमादेवी मा.वि. ले लगातार ३ पटक नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड हातपार्दै जिल्ला र प्रदेशमा पनि उत्कृष्ट प्रदर्शन गरेको र उसुका साफ गेमका गोल्ड मेडलिष्ट राजकुमार रसाइली यसै स्थानका हुनु यसका उदाहरणहरू रहेको उनको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्