हेलम्बु ।
हेलम्बु गाउँपालिकाका महिलाहरू अहिले सुत्केरी हुन प्रसूति गृहनै जाने गरेका छन् । उनीहरू घरमै असुरक्षित प्रसुति गर्न चाहँदैनन् । यो सँगै हेलम्बु शून्य होम डेलिभरी अर्थात् (घरमै सुत्केरी हुने महिलाहरू) शून्य रहेको गाउँपालिकाको रूपमा रहेको छ । ९० प्रतिशतभन्दा माथि महिलाहरू प्रसुति गृह मा नै सुत्केरी हुने स्थानलाई शून्य होम डेलिभरी भएको मानिन्छ ।
महाङ्काल स्वास्थ्य चौकी, इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्र र इचोक स्वास्थ्य चौकी गरी तीन स्थानमा प्रसुति गृह रहेको हेलम्बुमा सबै महिलाहरू प्रस्तुति गृहमै सुत्केरी हुने गरेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मुकेश भट्टराईले जानकारी दिए।
हिमाली पालिकाको रूपमा रहेको हेलम्बुमा तयारी अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा थप प्रोत्साहन रकम, प्रभावकारी पोस्ट नेटल केयर (पिएनसी) सडकको सहज सुविधा लगायतका कारण गाउँपालिकालाई घरमै सुत्केरी हुने दरलाई शून्य मा झार्न सफल भएको उनको भनाइ छ।
साथै गाउँपालिका अध्यक्ष निमा ग्याल्जन शेर्पाको सक्रियता, उचित सल्लाह, सुझाव तथा निर्देशन, सबैको सामूहिक कार्य (टिमवर्क) र सक्रिय सहभागिताका कारण यो सम्भव भएको गाउँपालिकाले जनाएको छ।
यस कार्यलाई सफल पार्न गाउँपालिकाको योजनामा फेयरमेड माङ्क र विविपि परिवार लगायतका संस्थाहरूले पनि सहयोग गरेको निरीक्षक भट्टराईले बताए ।
यो सँगै गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि पोषण विशेष कार्यक्रम अघि सारेको छ। जसमा मध्यपान तथा धुम्रपान नगरेका हजार दिनका आमाहरू लाई प्रोत्साहनका लागि थप १० हजार रकम उपलब्ध गराइने नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ।
साथै गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा ६२ ले प्रस्तुति गृहमै आई सुत्केरी भएको र जसमध्ये नेपाल सरकारले तोकेको प्रोटोकल भित्र रही नियमित गर्भजाँच गरेका ४२ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक भट्टराईले जानकारी दिए । उनीहरूलाई गाउँपालिकाले थप तीन हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरिएको पनि उनले बताए ।















प्रतिक्रिया दिनुहोस्