काठमाडौँ । प्रधानमन्त्री आफैले गरेको प्रतिबद्धता कार्यान्वयन नहुँदा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा चर्को जनदबाब देखिन थालेको छ । २०८० माघ १७ गते गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको अवसरमा एमाले अध्यक्ष ओलीले मेलम्ची–भोताङ सडक र बाँसखर्क–बरुवा–याङ्री सडकको कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्ने घोषणा गरेका थिए । तर हालसम्म पनि यो कुरा कार्यन्वयन हुन नसकेपछि साउन ११ गते प्रधानमन्त्री केपी शर्मा ओली समक्ष विशेष ध्यानाकर्षण गराइएको छ ।
अघिल्लो आर्थिक वर्षमा १–१ करोड रुपैयाँ विनियोजन भए पनि चालु वर्षमा कुनै बजेट नपरेको विषयमा गम्भीर चासो व्यक्त गरिएको छ । ओलीले भाषणको क्रममा तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भेट्ने नभए फोन मार्फत भएपनि यहाँको सडक कालोपत्रेको लागी आग्रह गर्ने बताएका थिए।
अध्यक्ष ओलीले प्रचण्डले नमाने सरकार अजम्बरी हैन,सरकार ढल्छ, एमालेले नेतृत्व गर्छ र यहाँको बाटो कालोपत्रे हुन्छ भनेर आश्वासन दिएका ओलीले अहिले बजेट नआएपछि पाँचपोखरीका जनताले आक्रोश पोखेका थिए । प्रधानमन्त्री हुँदा समेत आफुले जनताको बिचमा गरेको बचनबद्दता पुरा नगरेको भन्दै पाँचपोखरीमा चर्को आलोचना भएको थियो ।
ध्यानाकर्षण गराउने क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले हजारौं जनताको सामु व्यक्त भएको प्रतिबद्धता कार्यान्वयन नहुँदा आफूलाई जनदबाब थेग्न कठिन भएको जानकारी गराए । उनले यथाशीघ्र आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न माग गरे। त्यस्तै, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठले ‘जरा अभियान’का क्रममा बजेट सुनिश्चित भएको जानकारी आफूले दिएको भए पनि त्यो कार्यान्वयन नहुँदा पाँचपोखरीमा पार्टीको संगठन विस्तारमा समेत समस्या भइरहेको धारणा राखे ।
उक्त भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले प्राविधिक कारणवश केही स्थानका योजना बजेटबाट छुटेको स्वीकार गर्दै कुनै न कुनै माध्यमबाट स्रोत सुनिश्चित गरिने प्रतिबद्धता जनाए । उनले काम गर्ने मान्छेकै आलोचना हुने भन्दै आशा लाई निराशामा परिणत नगर्ने बताए । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पनि बजेट छुटको जानकारी आफुलाई गराएको ओलीले जानकारी दिए ।
भेटघाट कार्यक्रम सफल बनाउन विशेष योगदान पु¥याउनु भएका नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य माधवप्रसाद पाण्डे, जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठ, प्रदेश कमिटी सदस्य अशोक चौलागाईं, अनेरास्ववियुका निबर्तमान केन्द्रीय सचिव सञ्जिव धितालप्रति आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।
कार्यक्रममा सहभागी अन्य नेताहरूमा पालिका उपाध्यक्ष सुनिता अधिकारी, प्रदेश कमिटी सदस्य देविन्द्र बहादुर खत्री, जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जारा, युवा नेता सोमर बोम्जन, पालिका प्रवक्ता तथा जिल्ला कमिटी सदस्य नारायण भट्टराई, वडा नम्बर १ का अध्यक्ष आलोक कुमार स्याङ्बो, पालिका कमिटी कार्यवाहक अध्यक्ष दोकदोक तामाङ, सचिव सुशान बोम्जन लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यो ध्यानाकर्षण कार्यक्रमले पाँचपोखरी थाङपालका जनताका बहुप्रतीक्षित सडक विकासको मागलाई पुनः राष्ट्रिय बहसमा ल्याएको छ ।















प्रतिक्रिया दिनुहोस्