सिन्धुपाल्चोक । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर –७ मा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता भइरहेको छ । शहीद स्मृति कबर्ड हलमा प्रतियोगिता आयोजना गरिएको छ । खेलको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गरे । इन्द्रावती गाउँपालिका वडा नम्बर –७ को युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता यही असार १४ गतेसम्म चल्नेछ । वडा नम्बर ७ लाई भलिबलको हब बनाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष रवीन्द्रकुमार खातीले जानकारी दिए ।
प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथि झम्कनाथ नेपालले आम समृद्विलाई व्यवहारमा कार्यान्वयन गर्न खेलकुद क्षेत्रको पनि समृद्वि आवश्यक रहेको बताए । भलिबल र फुटबलमा इन्द्रावतीका खेलाडीले राम्रो प्रदर्शन गरेको उनले बताए । इन्द्रावतीमा हुने खेलहरूलाई गाउँपालिकाले अभिभावकत्व गर्ने नेपालको भनाइ छ ।
मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका वडा नं ४ का वडाध्यक्ष क्षेत्रबहादुर तामाङले कबर्ड हलको संरचना बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । खेलाडी राष्ट्रको गहना भएको भन्दै वडाध्यक्ष तामाङले कार्यक्रम सफलताको शुभकामना दिए ।
प्रतियोगितामा इन्द्रावती गाउँपालिका का १२ वटै वडाबाट सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । ६ वटा वडाको ७ टिम प्रतियोगितामा सहभागी छन् । गाउँपालिकाको वडा नं १, ४, ५, ७, ८ र १२ नं का खेलाडीहरूको प्रतियोगितामा सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उद्वाटन खेल वडा नं ७ बि र वडा नं १२ बीच सुरू भएको थियो ।
युवा तथा खेलकुद विकास समिति इन्द्रावती ७ का अध्यक्ष प्रकाश घिमिरेको सभाध्यक्षतामा भएको उद्वाटन कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल प्रमुख आतिथि थिए । कार्यक्रममा इन्द्रावती ७ का पूर्व वडाध्यक्ष वीरबहादुर तामाङ, इन्द्रावती ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ, इन्द्रावती ८ का अध्यक्ष डिलबहादुर श्रेष्ठ, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार र स्थानीय बासिन्दाको उपस्थिति थियो ।













प्रतिक्रिया दिनुहोस्