काठमाडौँ । तिब्बततर्फबाट शरणार्थी प्रवेश गर्नसक्ने आशंकामा प्रहरीले चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
चीनसँग नेपालको १४ जिल्लाको भौगोलिक सिमाना जोडिएको छ । नेपाल–चीन सीमा जोडिएका ४ वटा जिल्लामा अध्यागमन कार्यालय छ ।
रसुवा जिल्लास्थित रसुवागढी, मुस्ताङको कोरला, हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानीमा अध्यागमन कार्यालय सञ्चालन गरिएको छ ।
दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन कार्यालयहरूले नेपालबाट चीनतर्फ आउजाउ गर्न ‘ट्राभल पास’ जारी गर्ने गरेका छन् । एकपटक पास लिएर एक वर्षसम्म आवतजावत गर्न सकिन्छ ।
तिब्बतको सीमा क्षेत्रमा पर्ने कोरला लगायतका १० ठाउँमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट स्थापना गरेको छ । तिब्बततर्फबाट शरणार्थी प्रवेश गर्नसक्ने आशंकामा सशस्त्र प्रहरी बलको बीओपीहरूले सुरक्षा कडाइ गरेका छन् ।
सिमानामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा कडाइ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सीमा क्षेत्रमा हुनसक्ने सुरक्षा चुनौतीबारे सजग रहेको प्रहरीको भनाइ छ ।
सिमानामा सशस्त्र र नेपाल प्रहरीले कडाइ गरेसँगै तिब्बतबाट शरणार्थीहरू नेपाल प्रवेश गर्न नपाएको गृह मन्त्रालयको दाबी छ ।
ताप्लेजुङ, हुम्ला, मुस्ताङ, गोरखा र सङ्खुवासभालगायत जिल्लामा नेपाल प्रहरीका सुरक्षा अधिकारीले पनि सिमाना केन्द्रित गस्ती गरिरहेका छन् । सिमानामा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
यसैबीच, सिमानाबाट हुने सुन तस्करी नियन्त्रण गर्न विशेष निगरानी गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।















प्रतिक्रिया दिनुहोस्