सिन्धुपाल्चोक । वाग्मती प्रदेश सरकारले स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी पक्की सडक निर्माण गर्ने रणनैतिक योजनाका सडक अलपत्र परेका छन् । प्रदेश सरकारले स्थानीय तहको केन्द्रसम्म पुग्ने मुख्य सडकलाई कालोपत्रे गर्ने लक्ष्यसहित अघि बढाएको कतिपय सडक अलपत्र अवस्थामा छन् ।
पूर्वधार विकास कार्यालय सिन्धुपाल्चोकका अनुसार वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोकका ५ स्थानीय तहको केन्द्रमा पुग्ने मुख्य सडक निर्माण कार्य थालेको थियोे । तर ठेकेदारको लापरबाहीले काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
सिन्धुपाल्चोकका स्थानीय तहहरु पाँचपोखरी थाङ्पाल, इन्द्रावती, जुगल, त्रिपुरासुन्दरी र लिसङ्खुपाखर गाउँपालिकाको केन्द्रसम्म पुग्नका लागि रणनैतिक सेवाका सडक निर्माणमा ठेकेदारको लापरबाहीले समस्या निम्तिएको कार्यालयले जनाएको छ।
पाँच स्थानीय तहमध्ये इन्द्रावती गाउपालिकाको केही भागमा सडक निर्माण भएको छ भने कतिपय ठाउँमा अलपत्र अवस्थामा छ। त्यस्तै, लिसङ्खुपाखर गाउँपालिका पुग्ने मुख्य सडक निर्माण भएको छ भने अन्य पालिकामा पुग्ने सडकको अवस्थामा उस्तै छ। स्थानीय तहको केन्द्रसम्म पुग्ने मुख्य सडक पक्की बन्दा स्थानीयलाई सेवा लिनदेखि कृषकलाई समेत सहज हुने स्थानीयको भनाइ छ । तर वाग्मती प्रदेश सरकारले ल्याएका यस्ता योजनाका दर्जनौं सडक अलपत्र परेको स्थानीयको भनाइ छ।
पक्की सडक निर्माण हुँदा केही हदसम्म सेवा मिलेको छ । ढुवानीका समग्रीदेखि अन्य यातायातको साधन प्रयोगमा सहज भएको छ। अझै अधुरो रहेका सडक निर्माण छिटो गर्नुपर्नेमा स्थानीय बासिन्दा जोड दिन्छन् ।
प्रदेश सरकारले केन्द्रसम्म पुग्ने सेवाका हिसाबले निर्माण गर्न लागेको रणनैतिक सडकले स्थानीयलाई धेरै सहज बनाएको छ । तर कतिपय ठाउँमा अलपत्र हुँदा यसको थप मार खेप्नु परेको छ।
अहिले पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट २०२ वटा क्रमागत योजनाको काम भएको छ । तर ठूलो योजनामा काम गर्ने ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती भएको छ। यसलाई सहज बनाउन समन्वय गरेर अघि बढेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर प्रकाश पौडेलले बताए ।













प्रतिक्रिया दिनुहोस्