सिन्धुपाल्चोक । तातोपानीको ऎतिहासिक धारा क्षेत्रलाई स्थानीय सरकारले सुविधासम्पन्न बनाउन लागेको छ।
नेपाल-चीन जोडने सीमा नाकामा रहेको तातोपानी धारालाई स्थानीय सरकारले पुनर्निर्माण गरी सुविधा सम्पन्न बनाउन लागेको हो ।
देश विदेशबाट तातोपानीमा नुहाउन आउने भक्तजनका लागि धारा पुनर्निर्माण गर्दै भोटेकोशी गाउँपालिकाले व्यवस्थित गर्न लागेको जनाएको छ। यसअघि तातोपानी धारामा रहेको सीमित बस्टब र खुल्ला धारा हुँदा भक्तजनलाई नुहाउन समस्या पर्ने र बास्टब कम हुँदा पालो कुर्नुपर्ने समस्यालाई समाधान गर्न पालिकाले अहिले एकैपटक ४६ जनाले बस्टबमा नुहाउन मिल्ने गरी निर्माण गरेको हो ।
दुईवटा भवनमा बास्टब र धारा निर्माण गरेर भोटेकोशी गाउँपालिकाले भक्तजनका लागि सुविधा बढाउन लागेको पालिकाले जनाएको छ। बस्टब निर्माणका लागि भोटेकोशी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट धारालाई व्यवस्थित गर्न लागेको गाउँपालिकाले जनाएको छ।
नुहाउनका लागि छिमेकी देश चीन र भारतबाट भक्तजन आउने गर्छन्।अहिले धारालाई सुविधा सम्पन्न तरिकाले निर्माण गरिदै छ । बाटोको कारण भने पर्यटक आउन नसकेको स्थानीय बताउँछन् ।
तर पहिलेको तुलनामा तातोपानी धारामा धेरै राम्रो व्यवस्था हुँदै आएको स्थानीय भक्त श्रेष्ठले बताए।
यसअघि शौचालयको समेत समस्या रहेको तातोपानीमा अहिले महिला-पुरुष गरी शौचालय छुट्टाछुट्टै निर्माण गरिएको भोटेकोसी गाउँपालिका २ तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले बताए ।
भोटेकोशी गाउँपालिका-२ तातोपानी निर्माण कम्पनीले २०८० बाट ०८२ वैशाखमा निर्माण गरिसक्ने सम्झौताअनुसार काम गरिरहेको छ। पुष मसान्तसम्म निर्माण सकेर हस्तान्तरण गर्ने भने पनि बाढी पहिरोका कारण निर्माण नसकिएको निर्माण कम्पनीका ठेकेदार सुवास श्रेष्ठले बताए ।
तातोपानी धारा अहिले व्यवस्थित रुपमा पुनर्निर्माण भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको ठेकेदार पक्षले जनाएको छ । पालिकाको आन्तरिक बजेटबाट निर्माण गरिएको यो धारा निर्माणका लागि पाँच करोडमा ठेक्का लागेको थियोे । निर्माणको लागि सम्झौता ३ करोडमा भएको छ। अहिले खुल्ला रुपमा रहेको तातोपानी धाराले केही दिनमा राम्रो व्यवस्थापनसहित भक्तजनले नुहाउन पाउने भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले बताए ।
पालिकाले तातोपानी धारालाई व्यवस्थित गर्दै धारामा नुहाउन आउने भक्तजनको लागि चिया कफी खान पाउने रेस्टुरेन्टको समेत व्यवस्था गर्नेछ । अहिले आन्तरिक बजेटबाट निर्माण भइरहेको तातोपानी धारालाई चैत्र ३ गते निर्माण कम्पनीले भोटेकोशी गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्