सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले जबरजस्ती करणीमा मुद्दामा मिलापत्र गराउन खोज्ने कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ।
पीडित तथा उनका परिवारलाई मिलापत्र गराउने नाममा दबाब दिई आर्थिक लेनदेन गरेको आरोपमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पक्राउ पर्नेहरूमा जुगल गाउँपालिका–२ का ४५ वर्षीय श्रीकाजी दोङ, ५० वर्षीय माइला दोङ, २४ वर्षीय सुशील दोङ, ४२ वर्षीय मिकमार दोङ, ३१ वर्षीय विशाल तामाङ, ३२ वर्षीय नेत्र दोङ र ५२ वर्षीय ङेमा छिरिङ लामा रहेका छन्।
प्रहरीका अनुसार अभियुक्तहरूले पीडित पक्षलाई धम्की, दबाब र प्रभावमा पार्दै कानुनविपरीत रकम असुली गर्ने प्रयास गरेकको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहिबार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२७ (क) बमोजिम मिलापत्र गर्न वा गराउन नहुने कसुरमा कारबाहीका लागि अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरीले उनीहरूबाट नगद ५ लाख १६ हजार ९ सय ३२ रुपैयाँ बरामद गरेको छ। साथै ग्लोबल आईएमई बैंकको नेत्र दोङको नामको एक लाख ६० हजार रकम लेखिएको एक थान खाली चेक, सिन्धु विकास बैंक लिमिटेडको तारा स्याङ्बो को नाममा ७५ हजार रकम लेखिएको चेक एक थान विभिन्न कम्पनीका ७ थान मोबाइल फोन पनि बरामद गरिएको र सामग्रीहरू अनुसन्धानका लागि महत्त्वपूर्ण प्रमाणका रूपमा राखिएको प्रहरीले जनाएको छ।
यस प्रकारका घटनाहरूमा संलग्न भई मिलापत्र गराउने बहानामा रकम असुल्ने, दबाब दिने तथा प्रभाव पार्ने कार्य कानुनविपरीत भएको भन्दै प्रहरीले कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण र पीडितलाई न्याय दिलाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धान प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्