images
images

सिन्धुपाल्चोकको पिपलडाँडामा मदिराको नशामा भएको विवादले लियो श्रीमतीको ज्यान, श्रीमान फरार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा मदिरा सेवनपछि भएको घरेलु विवादले एक महिलाको ज्यान गएको छ। घटनापछि उनका श्रीमान फरार रहेका छन्।

मृत्यु हुने स्थानीय मिना राना रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा उनका श्रीमान मिनबहादुर भण्डारीको खोजी तीव्र पारिएको छ।

images
images

स्थानीयका अनुसार माइत गएकी मिनालाई मंगलबार मिनबहादुरले चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित ससुरालीबाट घर ल्याएका थिए। साँझ दुवैले सँगै मदिरा सेवन गरेका थिए। त्यसक्रममा सामान्य भनाभन भएपछि मिनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

वडा सदस्य रवि खत्रीका अनुसार घटनामा धारिलो हतियार प्रयोग भएको कुनै संकेत नदेखिएको भए पनि टाउकोमा लागेको चोटका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

बुधबार बिहान स्थानीयले मिनालाई घरभित्र मृत अवस्थामा फेला पारेका थिए। शवमा टाउको र घुँडामा चोट तथा निलडाम देखिएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने प्रतिवेदन र थप अनुसन्धानपछि घटनाको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

फरार रहेका मिनबहादुरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्