मेलम्ची । नेपाल घरेलु तथा साना उद्योग महासंघ, सिन्धुपाल्चोकको आयोजनामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो धारण राख्नुहुँदै प्रमुख तामाङले साना तथा घरेलु उद्योगलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गरे । स्थानीय स्रोत, सीप र श्रमको उपयोग गर्दै मेलम्चीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन साना तथा घरेलु उद्योगहरूलाई विशेष प्राथमिकतामा राखेर उद्योगको प्रवद्र्धनका लागि आवश्यक नीति, सहकार्य र बजेट सुनिश्चित गर्दै आएको बताए ।
उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई विस्तार गर्दै स्थानीय उत्पादनको व्यवसायीकरण, ब्राण्डिङ र बजारीकरणमा नगरपालिकाको सकृय संलग्नता रहने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रमुख उमा प्रधान, मेलम्ची नगरपालिका ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ सहित महासंघका पदाधिकारी तथा उद्योग, व्यवसाय क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा महासंघका अध्यक्ष रुद्र प्रसाद दुलालले साना तथा घरेलु उद्योगसम्बन्धी सरकारी नीति, अनुदान, सहुलियत ऋण, तालिम तथा व्यवसाय विस्तारका सम्भावनाहरूको बारेमा सुझाव दिए । स्थानीय तह, संघसंस्था र निजी क्षेत्रबीचको समन्वयले मात्र उद्यमशीलता प्रवद्र्धन सम्भव हुने भएकोले स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको उनले बताए ।
अध्यक्ष दुलालको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, सिन्धुपाल्चोकले आगामी दिनहरूमा मेलम्ची लगायतका अन्य स्थानीय तहहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्