images
images

मानेश्वाराका महिलाको आयआर्जनको गतिलो माध्यम नर्सरी

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ८ मानेश्वारामा सेतीदेवी उद्यमी महिला समूहले नर्सरीबाट समूहमा आर्थिक स्रोत जुटाउन थालेका छन् ।
५ रोपनी जग्गामा सेतीदेवी उद्यमी महिला समूहले नगरपालिकाको अनुदानमा नर्सरी सञ्चालन गर्दै आएका छन् । नर्सरी सञ्चालन गरेर त्यहाँ उत्पादन भएका विभिन्न फलफूलका बिरुवा बिक्री वितरण गरेर समूहको आम्दानीको स्रोतलाई वृद्धि गर्दै आएको बाह्रबिसे नगरपालिका वडा नं. ८ वडाध्यक्ष विमल पौडेलले बताए ।
अध्यक्ष पौडेलले ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको र महिला समूहलाई नगरपालिकाले पनि १ लाख अनुदान दिएको थियो । सोही रकम र वडाध्यक्ष पौडेलले उपलब्ध गराएको जमिनलाई सदुपयोग गर्दै महिला समूहले नर्सरी सञ्चालनमा ल्याएका हुन् । अहिले समूहको स्रोत वृद्धि हुँदै गएको वडाध्यक्ष पौडेलले बताए ।
यहाँ उत्पादन भएका कागती, सुन्तला, कफी, धुपी, अम्बालगायत विभिन्न जातका फलफूलका बिरुवाहरु उनीहरुले बिक्री गर्दै आएका छन्। त्यसबाट आएको रकम समूहको आम्दानीको स्रोत बन्ने गरेको वडाध्यक्ष पौडेलले बताए । बजारमा २ सय पर्ने सुन्तलाको विरुवालाई यहाँ समूहले ५५ रुपैयाँमै बेच्ने गरेको पौडेलले जानकारी दिए ।
साथै, नर्सरीका लागि फरेस्ट याक्सन नेपालले १० लाख सहयोग गरेको छ, त्यसबाट फलामको टनेल बनाएर सहज रुपमा काम भइरहेको छ। बाहविसे नगरपालिकाबाट गत साल एक लाख अनुदान र फरेस्ट याक्सन नेपालले बीउ खारिदका लागि थप ५० हजार अनुदान दिएर सञ्चालन भएको यस नर्सरीबाट वार्षिक ६० हजार बिरुवा उत्पादन हुने सेतीदेवी उद्यमी महिला समूहले जनाएको छ। समूहका सबै १५ जना महिला नै बिरुवा उत्पादनमा सक्रिय भएर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्