images
images

तातोपानी नाकाबाट भित्रिए सयौँ इलोक्ट्रोनिक गाडी

सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानीबाट आठ महिनामै २६ सय थान विद्युतीय गाडी नेपाल भित्रिएको छ । नेपाली बजारमा विद्युतीय गाडीको माग बढेसँगै उत्तरी नाका तातोपानीबाट चालू आर्थिक बर्षको ८ महिनामा मात्रै २६ सय थान गाडी भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय नेपाली बजारमा चीनबाट विभिन्न ब्रान्डका विद्युतीय गाडीको आयात बढ्न थालेको छ । अहिले तातोपानी नाकाबाट अमोडा, जिकर, लिप मोटर, फोटन, नामी, दिपाल, एम्जी, सिरिजलगायत ब्रान्डका विद्युतीय गाडी भित्रिएको हो ।

images
images

गत आर्थिक वर्षमा २६ सय थान विद्युतीय गाडी भित्रिएको तातोपानी नाकाबाट चालू आर्थिक वर्षको ८ महिनामै २६ सय थान विद्युतीय गाडी भित्रिइसकेको तातोपानी भन्सार कार्यालयले जनाएको हो, जसमध्ये २१ सय थान गाडी भन्सार पास भएर काठमाडौँका सोरुममा गइसकेका छन् भने पाँच सय थान गाडी भन्सार जाँच पास हुने प्रक्रियामा छन् ।
डिजेल, पेट्रोलको गाडीभन्डा विद्युतीय गाडी यात्राका लागि सहज हुने चालकहरुको अनुभव छ । विद्युतीय गाडी अपाङ्गता भएका व्यक्तिहरुले पनि सहजै चलाउन सक्ने चालक सुरज तामाङ बताउँछन् । पहिला डिजेल पेट्रोलको गाडी चलाएका पवन थापा भन्छन्, ‘अहिले चीनबाट इलोक्ट्रोनिक गाडी भित्रिएसँगै आफूले विद्युतीय गाडी चलाउन थालेको हुँ । विद्युतीय गाडी डिजेल पेट्रोलको तुलनामा चलाउन निकै सजिलो र खर्च पनि कम हुँदो रहेछ ।
विद्युतीय गाडीमा क्लज र गियर नहँुदा महिलाहरुलाई पनि चलाउन सजिलो हुने भएकाले खपत बढ्न थालेको ढुवानी कम्पनी सिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले बताए । नेपालमा इन्धनको मुल्य वृद्धि, अभाव र खर्च पनि कम हुने भएकाले विद्युतीय गाडीको माग बढ्दै गएको हो ।
पछिल्लो समय टेक्नोलोजीको हिसाबले हेर्दा नेपालमा विद्युतीय गाडीे मन पराउने धेरै देखिएका छन् । योसँगै गाडी ड्राइभ गर्दा सजिलो लाग्ने र डिजेल, पेट्रोलको अभाव झेल्नु नपर्ने भएपछि विद्युतीय सवारीसाधनको आयात बढेको सुक्खा बन्दरगाह तातोपानीका व्यवस्थापन प्रमुख अनिरुद्र थापाले बताए ।
विद्युतीय सवारी साधनबाट मात्रै चालू वर्षको अहिलेसम्म झन्डै तीन अर्ब राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताए । गाडी चलाउन सजिलो र खर्च कम हुने भएपछि यसको माग बढ्न थालेको काफ्लेको भनाइ छ ।
विद्युतीय सवारी साधन प्रयोग गर्दा यात्रामा सहज हुने र खर्चमा कमी आउने भएपछि विद्युतीय सवारीसाधन प्रयोग गर्नेको संख्या बढ्दै गएको हो ।

 

प्रतिक्रिया दिनुहोस्