सिन्धुपाल्चोक । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रम भएको छ ।
सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा विविध कार्यक्रम भएको हो । इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा सचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको प्राङ्गणमा सम्पन्न कार्यक्रममा १२ वटै वडाका महिला उद्यमीहरूले उत्पादन गरेका तरकारी, खाद्यान्न, कपडा, जडीबुटीलगायतका सामग्रीको प्रदर्शनी गरिएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि प्रत्येक वडामा तालिम सञ्चालन गरी त्यस क्षेत्रको विशेषताअनुरूप उद्यम प्रवर्धन गरिएको बताए । वडा नम्बर १ लाई उत्कृष्ट स्टलका रूपमा सम्मान गाउँपालिकाले प्रदान गरेको छ । अर्थिक उपनर्जनमा सहयोग पु¥याउन कृषि तथा पशुपालनलगायतका कार्यक्रमका लागि विभिन्न संस्थासँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन भइरहेको अध्यक्ष नेपालले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष सोभना तामाङले महिलाहरूलाई केवल लगानी मात्र होइन, आवश्यक प्रोत्साहनसमेत दिनुपर्नेमा जोड दिइन् । उनले आयआर्जन र रोजगारीका माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन पालिका प्रतिबद्ध रहेको उल्लेख गरिन् । कार्यक्रममा विभिन्न सहकारी संस्था तथा महिला समूहहरूले सचेतनामूलक नाटक, गीत तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरी विशेष रौनक थपेका थिए ।
यसैबीच ११५औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । हाजिरीजवाफ प्रतियोगितामा ३१ अंकसहित पहिलो भएको तेर्से माध्यमिक विद्यालय, त्यस्तै २५ अंकसहित सिन्धुपुराना गाउँ माध्यमिक विद्यालय मेलम्ची–५ दोस्रो र २२ अंकसहित तेस्रो भएको नगरपालिका कर्मचारी टिमलाई पुरस्कार वितरण गरिएको थियो । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १२ हजार र ६ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने टिकटक प्रतियोगितामा चाँदनी तामाङ पहिलो, मिनु तामाङ दोस्रो र सुजता आचार्य तेस्रो भइन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै महिला जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलमा ३–२ ले विजयी भएको कर्मचारी टिमलाई ट्रफी र मेडल प्रदान गरिएको थियो भने जनप्रतिनिधिको टिमलाई मेडलले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले गरेका थिए ।
उता, सुनकोशी गाउँपालिकाले पनि अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाएको छ । सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण भन्ने नाराका साथ, महिला सशक्तीकरण र लैंगिक समानताको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए । गाउँपालिकाले प्रभातफेरीसहित विविध कार्यक्रम गरेको थियो ।
अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा लोक गीत प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं १ देखि ८ को सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम लागर्चे वेत्रावती समूह, द्वितीय भोटेनाम्लाङ महिला समूह र तृतीय थाङपालधाप गोल्मेश्वरी महिला समूह र त्यसैगरी बाँसखर्क महिला समूहले सान्त्वना स्थान प्राप्त गरेका थिए । पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार तथा सान्त्वनाले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले सन्देशमूलक खुला लोकगीत प्रतियोगिता गरेको छ । सहभागी १२ वटा समूह भएकोमा प्रथम कमलको फूल सहकारी संस्थाबाट निर्मल तिमल्सिना, अस्मिता परियार, अनिता खत्री भए । त्यसै द्वितीय कविता थापाको नेतृत्वको समूह, तृतीय सुशीला श्रेष्ठको समूह र सान्त्वना रेखा खत्रीको समूह भएको थियो ।















प्रतिक्रिया दिनुहोस्