images
images

पहिरो सूचना प्रणाली सुदृढीकरण विषयक अभिमुखीकरण

सिन्धुपाल्चोक । पत्रकारहरुसँग पहिरो सूचना प्रणाली सुदृढीकरण विषयक अभिमुखीकरण कार्यक्रम चौतारामा सम्पन्न भएको छ ।
कार्यक्रम अस्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सामुदायिक वातावरण संरक्षण मञ्च नेपालले गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यस्ता तालिम तथा कार्यक्रमहरुले कर्यसम्पादनमा समेत सहयोग पुग्ने बताए ।
विपद्मा सही सूचना प्रवाह हुन नसकेमा गम्भीर क्षति भोग्नुपर्ने अवस्था आउन सक्ने भएकाले समन्वय र सहकार्यलाई व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ थियो ।
त्यस्तै, सूचनाले काम गर्न सजिलो हुने बताउँदै सबैले सुशासनकै लागि काम गर्ने भएकाले आग्रह पूर्वाग्रहबिना सूचना सम्प्रेषण गर्न पत्रकारलाई उनले आग्रह गरे ।

images
images

त्यस्तै सिन्धुका पत्रकारहरूमा अनुशासन र धैर्य पाइएको बताउँदै विपद्मा पत्रकारहरुको अग्रणि भूमिका हुने उनले बताए । साथै तालिममा सिकेका कुरालाई कार्यक्षेत्रमा लागू गर्न सुझाव पनि दिए ।

प्राक्टिकल एक्सनका जलवायुविज्ञ धरमराज उप्रेतीले संस्थाले गरिरहेका कामका बारेमा भर्चुअल रुपमा जानकारी दिँदै पूर्व सूचनाका लागि प्रविधि विकाससँगै खोलामा बगेको पानीसमेत कति छ भनेर सजिलै थाहा पाउन सकिने अवस्थामा आइपुगेको बताए ।
अहिले मानवसमाजले जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताले गर्दा समस्या भोगिरहेको उनले जानकारी दिए । विपदले भौतिक र आर्थिक क्षति मात्रै नभई गैह्र आर्थिक क्षत्रमा पनि धेरै क्षति हुने गरेको उनले बताए ।
सबै स्थानमा जोखिमको लेबल फरक हुने भएकोले सबै पक्षले बुझ्नुपर्ने भन्दै उनले विपदमा २४ घण्टाअघि मात्रै सूचना दिन सके पनि ३० प्रतिशतसम्म क्षति कम हुन सक्ने उल्लेख गरे ।

पूर्वसूचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै पत्रकार दीपक अधिकारीले पत्रकारिता पेशा भनेको पहिला आफूले बुझ्ने र बुझाउने पेशा भएको बताए । पत्रकारले विज्ञसँग मात्र बुझेर समुदायमा तथ्यपरक सूचना दिन सकिने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

वर्षामा आधारित पहिरो पूर्व सूचना प्रणालीका बारेमा आफ्नो प्रस्तुति दिँदै प्राक्टिकल एक्सनका परियोजना प्रबन्धक बिना खड्काले रिसर्च हेर्दा पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो रहेको जानकारी दिइन् ।
त्यस्तै यी पालिकाहरुमा जोखिम न्यूनीकरणको सवालमा देशमै पहिलोपटक पहिरो पूर्व सूचना प्रणाली प्रयोगमा ल्याइएको बताए । उक्त क्षेत्रमा १६ वटा स्वचालित हावापानी मापक यन्त्र जडान गरेको जानकारी दिँदै काम गर्न अब केही सहज हुने बताए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका विपद फोकल पर्सन नारायण क्षेत्रीले पालिकाले गरेको विपद् पूर्वतयारीमा पहिला र अहिलेको अवस्था, पालिकाको आगामी योजना, र चुनौतीका बारेमा आफ्नो प्रस्तुति दिए ।

प्राक्टिकल एक्सनका विशेष संगतले कार्यक्रमको उद्देश्य र संस्थाका बारेमा जानकारी दिए । यस क्रमामा संस्थाले सिन्धुपाल्चोकमा गर्दै आएका कामहरुका बारेमा जानकारी दिँदै विपद् पूर्वतयारीले प्रतिकार्यमा सहयोग पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा सिडिईसिफका कार्यबाहक अध्यक्ष ईश्वरी अधिकारी, जिल्लाका पत्रकारहरु र संस्थाका कर्मचारीलगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्